Breaking

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्वय थापा र शर्माको ११ बुँदे ध्यानाकर्षणपत्र


नेपाली काँग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो ।

पुसको जाडोमा पीडितहरुको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको काँग्रेस महामन्त्री थापाले बताउनु भयो । उहाँले स्थायी रुपमा सिकाई केन्द्रहरु बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताउनु भयो ।

टोलीले पीडितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि मंसीरको पहिलो हप्ताबाट पार्टीका नेता, कार्यकर्ता परिचालन गर्ने पनि प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको छ । महामन्त्री थापाले स्वास्थ्य संस्थाहरु अस्थायी रुपमा बनाउने काममा पनि सरकारले ढिलाई गर्न नहुने बताउनु भयो ।