राजनीति

प्रचण्ड, देउवा र ओलीकै कारण गणतन्त्र खतरामा, राजावादीलाई उक्साउने को ?


काठमाडौँ — बहुदलीय व्यवस्थाको तीन दशक र गणतन्त्रको डेढ दशकसम्म आइपुग्दा नेपाली नेताहरूले धेरै अनुभव हासिल गरेका छन् । शासन सत्तामा रहेकैहरूले व्यवस्थामाथि खतरा देखिरहेका छन् । जनताको अवस्थामा ध्यान नदिएका नेताले व्यवस्थामाथि कसरी खतरा देखे ? नेपाली राजनीतिले अनेक आरोह–अवरोह र घुम्तीहरू पार गरेको छ ।

लोकतान्त्रिक प्रणाली स्थापना गर्न नेताहरूले कठोर संघर्ष गरे । तर, शासन सत्तामा पुगेपछि जनताका पीरमर्का भुल्ने संस्कार जस्तै बन्न पुग्यो । छोटो अवधिमा व्यवस्था परिवर्तन हुँदै आयो । तर, जनताको अवस्थामा खासै परिवर्तन आउन सकेन । भ्रष्टाचारले सीमा नाघेको छ । जनताको आक्रोश पनि बढ्दो छ । जनतामाझ नेताहरू अलोकप्रिय बन्दै गएका छन् ।

व्यवस्थामाथि नै प्रश्न उठ्न थाल्नुको कारण अन्त कतै खोज्नु पर्दैन । स्वयम् राजनीतकि दलका नेताहरुको कार्यशैली नै मूख्य कारक हो । आफ्नै कारण नेताहरू बदनाम बन्दैछन् । विलासी जीवनशैली नेताको बदनामीको प्रमुख कारण बनेको छ । राजनीतिमा सादगी जीवन बिताएर अवकाश लिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, ०४६ सालको जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंह लगायतले नेपाल र नेपालीको अहित हुने कुनै किसिमको काम नगरेकाले आज पनि उनीहरूलाई स्वच्छ छविको नेताको रूपमा स्मरण गरिन्छ ।

गणेशमानले प्रधानमन्त्री पद नै अस्वीकार गरिदिएका थिए । मनमोहन र कृष्णप्रसाद जसरी प्रधानमन्त्री निवास छिरे, त्यसरी नै बाहिरिए । जनताको पक्षमा सक्दो काम गर्ने कोसिस गरे । ती सरकारको काम आज पनि जनता स्मरण गर्छन । तर, अहिले जनताको अवस्था उस्तै रहे पनि नेताहरूको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ ।

असल चरित्र र शुद्ध आचरणका नेता भेटन् दिउँसै ‘टर्च’ बालेर खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म भ्रष्टाचारसँग कुनै न कुनै रूपमा जोडिएको आरोप लाग्ने गरेको छ । त्यसैले नेताहरू यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठीक हुन् भन्ने राजनीतिक भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रतिरक्षाको तयारीमा छन् ।

पुराना दल र नयाँ दलबीच आरोपप्रत्यारोपको अवस्था समेत बनेकोछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलहरूकै कारण व्यवस्था खतरामा पर्ने भन्दै प्रतिवाद गरेका छन् । आमनागरिकको आफूप्रतिको चरम निराशा र असन्तुष्टि लुकाउन पुराना दलहरूले व्यवस्था नै खतरामा पारेको आरोपको लगाएको नयाँ दलको जिकिर छ ।

आफूहरुलाई देशभक्त राष्ट्रप्रेमी मात्रै नभएर सर्वहाराका नेता भन्नेहरूको कार्यशैली र व्यवहार सामान्तीशैलीको छ । आफू र आफ्नो परिवारको कोही बिरामी परे विदेशी महंगो अस्पतालमा उपचार गर्न पुग्छन । जनताले भने अत्यावश्यक सेवासमेत सहज रूपमा पाउन नसक्ने अवस्था छ । जनता अभाव र पीडामा छटपटाइरहेका छन् ।

महंगी र भ्रष्टाचारले आकाश छोइसक्यो । नेताहरू भने पछिल्ला दिनमा पुराना दल र नयाँ दलको अस्तित्वको विषयमा जुहारी खेल्नमा व्यस्त छन् । सरकारमा रहेका दलहरू व्यवस्थामाथि खतरा रहेको बताइरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने संविधान विरोधी तत्वहरू केही मात्रामा सल्बलाए पनि यो व्यवस्थामाथि कुनै पनि खतरा नभएको दाबी गर्छ ।

ग्रीक दार्शनिक एरिस्टोटलका अनुसार कुनै पनि असल नेतामा ‘इथोस्, प्याथोस् र लोगोस्’ तीनवटा गुण हुन्छन् भनिएको छ । अर्थात् ‘इथोस्’ अर्थात् पत्यारिला नेताहरूले आममासलाई सम्झाउन र आफूतिर आकर्षित गर्न सक्छन् । प्याथोस् अर्थात् भावनात्मक कुराद्वारा जनजनलाई राजनीतिमा जोड्न सक्छन् । ‘लोगोस्’ अर्थात् तर्क गर्नसक्ने नेताले बलमिच्याइँ गर्दैन, तर्ककै भरमा राजनीतिलाई लोकतान्त्रिक विधिअनुसार अगाडि बढाउँछ । तर, अहिले ती कुरा केवल सिद्धान्तमा सीमित बन्न पुगेका छन् । व्यवहारत नेताहरूको ध्यान सत्ताभन्दा बाहिर छैन ।

जसरी पनि सत्तामा पुग्ने र टिकिरहने सोचले गर्दा आजको दिनमा नेताहरू व्यवस्थामाथि नै खतरा देखिरहेका छन् । ३३ वर्षदेखि मुलुकमा बहुदलीय शासन पद्धति छ । बहुदलीय शासन प्रणालीले जसले जनताको मन जित्छ उसैले शासन गर्ने हो । जनताको भावनाअनुसार काम गर्न नसक्नेहरू किनारा लाग्दै जाने हो । वर्तमान शासन व्यवस्थाको विशेषता नै यही हो । तर, व्यवस्थामाथि नै प्रहार भयो भन्दै कुर्लने नेताहरूले गम्भीर भएर आत्मसमीक्षा गर्न जरुरी छ ।