Breaking

प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव भूकम्प पीडितलाई दिने सरकारको निर्णय


काठमाडौँ– सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलव जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको हो । उहाँले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय गरेको बताउनु भयो । मन्त्री शर्माले नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणमार्फत कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन अघि बढाउने पनि बताउनु भयो । सरकारले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरव आयोजनाको रुपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गरेको छ ।

त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । उहाँले पोर्चुगलमा नेपाली राजदुतावास स्थापना गरी शनिल नेपाललाई राजदुत नियुक्त सरकारले निर्णय गरेको जानकारी दिनुभयो। उहाँले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको बताउनु भयो । मन्त्री शर्माले मन्त्रिपरिषद विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान (गठन तथा सञ्चालन) आदेश, २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश, २०८० स्वीकृत गरेको उल्लेख गर्नुभयो ।