काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ । विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सम्बन्धी छ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने स्रोतले बतायो ।
एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।
तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्ताव फेस गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् । विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभामा मतदान हुनेछ । एन्फाको कूल १०७ सदस्य ९जिल्ला, क्लब, संघ० मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ । अध्यक्षको बर्खास्तीका लागि कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।
२०७९ असारमा भएको एन्फा निर्वाचनमा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्वाङ अध्यक्ष बनेका थिए । तर नेम्वाङ नेतृत्वले एक वर्ष बितिसक्दा पनि अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कर्मा शेर्पासहित असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।
प्रतिक्रिया