समाचार

भयानक भूकम्पको जोखिम, ८ रेक्टरभन्दा माथिको डर, यत्ति सावधानी अपनाए ज्यान जोगिन्छ


काठमाडौँ — नेपाल भौगोलिक रूपले भूकम्पीय जोखिममा छ । पश्चिम नेपालमा ठूलो भूकम्प नगएको पाँच सय वर्षभन्दा बढी भइसकेको छ । भूसतहमुनि इन्डियन र युरेसियन प्लेटको निरन्तर घर्षणले ठूलो परिमाणको शक्ति उत्पन्न भइरहेको छ । त्यसैले भूकम्पविदहरूले जोखिम कायमै रहेको बताएका छन् । जोखिमका बीच भूकम्पबाट कसरी बच्ने ? अन्य प्राकृतिक प्रकोपहरू कुन समय आउछ भनेर सामान्यतय अनुमान गर्न सकिन्छ ।

तर, भूकम्पबारे अनुमान गर्न सकिँदैन । अकल्पनीय र पूर्वानुमान गर्न नसकिने भएकै कारण भूकम्पबाट धेरै जनधनको क्षति हुँदै आएको छ । नेपालजस्तो विकासोन्मुख देशमा भूकम्पका कारण जनधनको क्षति निरन्तर भइरहेको छ । गत शुक्रबार मध्याराति पश्चिम नेपालको जाजरकोट र रूकुम पश्चिममा भुकम्प जाँदा ठूलो मात्रामा जनधनको क्षति भयो । विज्ञहरूले यो भन्दा विनाशकारी भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।

भूकम्पका दृष्टिले नेपाल जोखिमयुक्त मानिन्छ । ९० वर्षयता मात्रै १९९०, २०४५ र २०७२ मा गरी तीन वटा शक्तिशाली भूकम्प गएका छन् । ५१८ वर्षदेखि ठूलो भूकम्प नगएको गोरखादेखि पश्चिम क्षेत्रलाई भूकम्पविद्ले बढी जोखिमयुक्त मान्दै आएका छन् । अझै ठूलो भूकम्प जाने चेतावनी उनीहरूको छ । लामो समयदेखि जमिनमुनि सञ्चय भइरहेको शक्ति कुनै बेला ठूलो भूकम्पका रूपमा निकास हुँदा अकल्पनीय क्षति पुग्नेछ ।

भूकम्पबाट जनधनको क्षति न्यूनिकरण गर्ने भनेकै पूर्वतयारीबाट हो । नेपाल भूकम्पीय जोखिममा छ भन्ने थाहा पाउँद पाउँदै पनि पूर्व तयारीमा हामी चुकिराखेका छौँ । भूकम्प गइहाले जतिसक्दो कम मानवीय र भौतिक क्षति होस् भनेर पूर्वतयारी र सतर्कतामा जोड दिनुपर्छ ।

प्रायः मानवनिर्मित संरचनाकै कारण भूकम्पमा बढी क्षति हुने गरेको छ । भूकम्पपछि चिन्ता र बहस जति हुन्छ, समय बित्दै जाँदा विर्सदै जाने प्रवृत्ति त्यति नै छ । सरकारले अझैसम्म पनि भूकम्प प्रतिरोधात्मक घर बनाउन उत्प्रेरितसमेत गर्न सकेको छैन । नागरिकलाई सुरक्षित रहन सचेतनामूलक अभियान पनि संचालन गरेको छैन । हुन त भूकम्पप्रति जनचेतना फैलाउनका निमित्त भूकम्प दिवस मनाउने कार्यको थालनी पनि भएको छ । तर, दिवसको रूपमा मात्र सिमित हुँदा यसबाट बच्ने उपायबारे आमसर्वसाधारण अझै अनविज्ञ छन् ।

नेपालमा वि.सं. १२७९ देखि नै भूकम्प गएको तथ्यांक छ । वि.सं १३१२ मा काठमाडौँ उपत्यकामा गएको भूकम्पबाट तत्कालीन राजा अभय मल्ल र वि.सं १४०१ मा तत्कालीन राजा अरी मल्लको समेत मृत्यु भएको थियो । जब भूकम्प जान्छ, तब राज्य राहत र उद्धार टोली लिएर प्रभावित क्षेत्रमा जाने चलन बसेको छ । तर, क्षति कम गर्न पूर्वतयारीमा भने राज्य र जनता चुक्दै आएका छन् । पटक पटक साना ठूला भूकम्प जाँदासमेत सरकार र नागरिकले पाठ सिक्न नसक्नु उदेकलाग्दो छ ।

प्राकृतिक विपतिको पूर्वतयारी देखाउनका लागि गर्ने काम होइन । देशभरको स्थिति अध्ययन गरी विपत् पूर्वतयारीमा आजैदेखि जुट्नुपर्छ । मानव निर्मित असुरक्षित संरचना नै जनधनको क्षतिको मूख्य कारक हुन् । विपत्तिपछि पुनस्र्थापनाभन्दा विपत्तिअघि नै सुरक्षित उपाय अवलम्बन सरकार र जनता लाग्नुपर्छ । त्यसले मात्रै जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ ।