Breaking

प्रचण्डपछि जाजरकोट पुगे नारायणकाजी, राहत अँझै पुगेन, दुई लाख सहयोग, चाँडै पक्की घर बनाइदिने


काठमाडौँ– जाजरकोट र रुकुम पश्चिममा शुक्रबार मध्यराति गएको भूकम्पको दोस्रो दिन आईतबार पनि राहत र उद्धारको कामले तीव्रता पाएको छ । सरकारदेखि राष्ट्रिय दलले भूकम्प प्रभावित क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न निर्णय गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका स्थानीयले राज्यको आभास गर्न पाएकाछन् । भुकम्प गएपछि भालेको डाकसंगै घाइतेको अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफै पुगेकाथिए । शनिवार आफु गएका प्रधानमन्त्रीले आइतबार गृहमन्त्रीको नेतृत्वमा अर्को टोलि पठाएकाछन् ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वामा स्वास्थ्यमन्त्री, उर्जामन्त्री र सांसदहरूको टोली भूकम्प पीडितको घाउमा महलम लगाउन जाजरकोट र रुकुम पश्चिम पुगेका छन् । उता जनताहरूलाई राज्य भएको महसुस गराईरहँदा यता, प्रधानमन्त्रीले तीन दिनमा नै राहतका लागि अधिकतम राम्रो काम गर्ने बताएका छन् । गृहमन्त्रीसहितको टोलिलले आईतबार मात्रै, ११ हजार थान भन्दा बढि त्रिपाल, १ हजार १ सय थान व्लान्केट,सोही संख्यामा स्लिपिङ व्याग र ,७०० थान टेन्ट प्रभावित क्षेत्रमा पु¥याएको छ ।

नेपाल सरकारले सुर्खेतलाई मुख्य सम्पर्कस्थल र नेपालगन्जलाई सहायक सम्पर्कस्थल बनाई भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहतसम्बन्धी कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ भने तत्कालका लागि भूकम्पबाट आवास क्षति भएका परिवारलालाई अस्थायी बसोबासको लागि टहराहरु निर्माण गर्ने पनि निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी ज्यान गुमाएकाका परिवारलाई प्रतिमृतक परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

विपद्को समयमा सरकारले सक्रियता बढाईरहेका बेला राजनीतिक दलहरुले पनि भौतिक रुपमा नै प्रभावित क्षेत्रमा आफ्नो उपस्थिति देखाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित अन्य सांसदहरू पहिलो दिन देखि नै प्रभावित क्षेत्रमा राहत उद्धारको काममा खटिएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ । गठबन्धनका मुख्य दल नेपाली कांग्रेसले पनि भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद् व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ ।

भूकम्पबाट ११ जिल्ला प्रभावित हुँदा ३ हजार ७७० घरमा क्षति पुगेको छ । जसमध्ये मध्ये २ हजार ८३८ घरमा आंशिक क्षति भएको छ भने ९३२ घर पूर्ण क्षति भएको छ । सबैभन्दा बढी जाजरकोटमा २ हजार ६८५ घरमा आंशिक क्षति पुगेको छ भने ९०५ घर पूर्णरुपमा ध्वस्त भएका छन् । यस्तै, रुकुम पूर्वमा १९ घरमा आंशिक क्षति पुगेको छ । भूकम्पमा परि हालसमम १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । मृतक सबैभन्दा धेरै जाजरकोटका १०५ जना रहेका छन् । त्यहाँ ११२ जना घाइेत भएका छन् । रुकुम पश्चिचमा ५२ जनाले ज्यान गुमाउदा १३२ जना घाइते भएका छन् । त्यस्तै जाजरकोटको चिउरी गाउँको दलित बस्तीमा भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको सामूहिक दाहसंस्कारसमेत गरिएको छ ।