Breaking

हेर्नै नसकिने सामूहिक दाहसंस्कारको दृश्यः मलामीले खोला भरियो, दाउरा बोक्ने छैनन युवा


काठमाडौँ– जाजरकोट भूकम्पले सयौंको ज्यान लिएको छ । दर्जनौंको सामुहिक दाहसंस्कार गरिएको छ । परिवार बिछिप्त अवस्थामा छन् । सिंगो जिल्लानै शोकमा छ । बाँचेकाहरुको सास्ती पनि कम छैन । अस्पतालबाट फर्किदा न त बस्नका लागि घर छ, न खानेकुरा, न परिवारको आडभरोसा । एकद्धार प्रणालीबाट सरकारले दिने भनेको राहत अँझै गाउँ पुगेको छैन ।मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुदैन भागेर जाउ ठाउँ जाउ मान्छे नमर्ने शहर हुँदैन । अहिले जाजरकोट र पश्चिम रुकुमले यही व्यथा भोगिरहेको छ ।

जाजरकोटको भूकम्पले सयौंकोे ज्यान गएको छ । घरभन्दा बढी मृतकको परिवारमा दरिलो खम्वा र आश भत्किएको छ । जमिनमा फाटेकोभन्दा बढी धाँजा मनमा फाटेको छ । तिहारमा दाजुभाईलाई लगाईदिन ढकमकक फूलेका सयपत्रीको माला आफन्तको शवमा परिरहेको छ । हेर्दै जिउ सिरिङ् हुने यो दृश्य जाजरकोटको नलगाड नगरपालिका–१ च्युरी गाउँको हो । जहाँ भूकम्पमा परी ज्यान गुमाएका १३ जनाको स्थानीय नलगाड खोलमा सामूहिक दाहसंस्कार गरिएको छ । अन्तिम संस्कारका लागि स्थानीय र शवको लाम लागेको थियो । २५ जनाको ज्यान गएको यो गाउँ अहिले पुरै शोकमा डुबेको छ ।
गाउँभरिका मानिसहरू भेला भएर शव हम्किरहेकाछन् ।

अवस्था यस्तोसम्म बनेको छ कि सिंगो गाउँ नै शोकमा रहदा सान्त्वना दिने मानिस समेत पर्याप्त छैनन् । एकतिर अर्को भूकम्पको डरले भतभति पोलिरहेको छ, अर्कोतिर आफन्तको वियोगले । कसैले परिवारका चार सदस्यसम्म गुमाएका छन् । कसैले दुई, कसैले एक । तर कसैले परिवारका सदस्य गुमाएका छन्, कसैले आफन्त गुमाएका छन्, त कोही छिमेकी गुमाएर । जाजरकोट र रुकुम पश्चिमका प्रत्येका मानिसहरु अहिले शोकमा छन् । भुकम्पमा परी ज्यान गुमाएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि आईतबारै अन्त्येष्टि गरिएको छ ।

सिंहको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए । भूकम्पअघि उनले बनाएको टिकटक अहिलेपनि सामाजिक सञ्जालमा भाईरल छ । अहिले परिवारका सदस्य गुमाएका महिलाहरुलाई सम्हाल्न हमम्मेहम्मे परेको छ । भूकम्पबाटै जोगिन पक्की घर बनाउने सपना बोकेर अधिकांश युवाजति विदेशतिर छन् । घरमा भूकम्पले बुहारी र नातिनी लगेपछि विदेशबाट छोरा आएपछि के जवाफ दिउँ भन्ने चिन्तामा हजुरआमा छिन् । भूकम्पका बेला बाहिर रहेकाहरु ज्यान जोगाउन सफल भएका छन् । तर परिवारका अन्य सदस्य तथा भलाकुसारी गर्न आएका पाहुना गुमाउँदा अर्कै विछिप्त अवस्था छ ।

उद्धारको काम सकिएकाले मृतकको संख्या रोकिने निश्चित छ । हामी यही चाहन्छौं पनि । मर्नेहरुले त संसार छाडिहाले तर, बाँच्नेहरुको सास्ती पनि कम छैन । जो अहिले पनि एकबोरा चामलको चिन्ता गरिरहेकाछन् । यस्ता कारुणिक दृश्यले धेरैको मन पोलेको छ । अस्पतामा आफै घाईते भएर उपचार गराईरहेकाहरु आफन्त गुमाएको दोहोरो शोकमा छन् । खानेकुरा, लत्ताकपडा, भाँडा घरभित्रै पुरिएका छन् । सबै लथालिंग छ । बस्ती नै चिरा परेको छ । अस्पतालबाट नीको भएर फर्किहालेपनि आडभरोसा लिन आफन्त छैनन् । वास बस्ने अर्को चिन्ता छ । एक द्वार प्रणालीबाट राहत साबाँड्ने भनिएको राहत अँझै गाउँ पुगेको छैन । अर्थात पश्चिम अहिले भावह्वील छ । पश्चिमले पीडामा मल्हम खोजिरहेको छ ।