राजनीति

पुनःस्थापनका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचनाको व्यवस्था गर्न आवश्यक छः प्रधानमन्त्री


काठमाडौँ– प्रधनमन्त्री पुष्पकमल दाहालले नियमित विधि प्रणालीहरुबाट पुनः स्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न नसकिने बताउनुभएको छ । आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पुनःस्थापनका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचनाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विगतका अनुभवहरुको पनि समीक्षा गरेर प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनः स्थापनाका लागि केही दिन अध्ययन गरी निर्णय गर्ने बताउनु भयो ।

उहाँले भुगोलको अध्ययन गर्न आवश्यक रहेको भन्दै उहाँले कम र बढी जोखिम रहेका स्थलहरुको अध्ययन गरी बस्ती बसाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यस पटक भुगोलको अध्ययन गरेर मात्रै बस्ती बनाउने कुरा र घर निर्माणको कुरालाई पनि एउटा निश्चित मापदण्डभित्र ल्याइने बताउनु भयो । प्रधानमन्त्री दाहालले विपद्पछि मात्रै विपद्का लागि आवश्यक सामग्रीहरु खोज्ने क्रमलाई अन्त्य गर्न ७७ जिल्लामा नै विपद् आउँदा चाहिने सामग्रीहरु संकलन गर्ने संरचना बनाइने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले पश्चिम नेपालमा भूकम्पको केन्द्रबिन्दुमा भन्दा अन्य स्थानमा बढी क्षति भएको बताउनु भयो । उहाँले उद्धार, राहत र पुनः स्थापना विशेष ढंगले गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले जनतालाई विश्वासमा लिने र तयारी पनि राम्रो गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । प्रधानमन्त्री दाहालले जोखिम अझै कायम रहेकाले सबैले सजग र शतर्क भएर रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।