Breaking

भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई सरकारले खाजा खर्च दिने


काठमाडौँ – सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो ।

‘राहत र उद्धारमा खटिएका स्वास्थ्यकर्मीलगायत उद्धारकर्मीलाई नियमाअनुसार दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय भएको छ’, सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि शनिबार बिहानैदेखि देशभरबाट उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा केन्द्रित भएका छन् ।
विभिन्न प्रदेश सरकार र संघीय सरकारले पनि स्वास्थ्यकर्मीलगायत राहत र उद्धारका लागि काम गरिरहेका छन् ।