विदेश

अमेरिकाकै बलमा कतिन्जेल युद्ध लड्छन् इजरायल र युक्रेन, विश्वको अर्को ध्रुव बदला लिने दाउमा


काठमाडौँ — हमासविरुद्धको इजरायली युद्धले युक्रेनमाथि रुसको आक्रमणले निर्माण गरेको अन्तर्राष्ट्रिय विभाजनलाई थप गहिरो बनाइदिएको छ । युक्रेनमा जारी युद्ध ८८औँ हप्तामा चलिरहँदा यस युद्धका पक्ष र विपक्षी मुलुकले तिनको गुटलाई थप अबल बनाउने प्रयास जारी राखेका छन्  । २४ फेब्रुअरी अर्थात् रुसले युक्रेनमाथि आक्रमण गरेको दिन विश्वले अनुमान र आकलन गरेभन्दा फरक परिणाम सतहमा पुगेको छ । रुसको शक्तिशाली सैन्य पङ्क्तिका अगाडि सानो युक्रेनी सेना केही दिनबाहेक टिक्न सक्दैन भनेर गरिएको अड्कलबाजी पूर्णतः असफल हुँदै गएको छ ।

त्यसो त इजरायल र हमासबीचको युद्ध युक्रेनमाथि रुसको आक्रमणले निर्माण गरेको अन्तर्राष्ट्रिय विभाजनलाई थप गहिरो बनाइदिएको छ । युक्रेनमा जारी युद्ध ८८ औँ हप्तामा चलिरहँदा यस युद्धका पक्ष र विपक्षी मुलुकले तिनको गुटलाई थप सबल बनाउने प्रयास जारी राखेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई हमाससँग तुलना गर्ने प्रयास गरेर अमेरिका नेतृत्वको पश्चिमी गुटलाई युक्रेनयुद्ध र इजरायल–हमास युद्धमा एकसाथ उभ्याउने प्रयास गरे ।

अक्टोबर १८ मा इजरायल भ्रमणका क्रममा उनले हमास र पुटिनबीच उलेख्य समानता भएको दाबी नै गरे । हमास र पुटिनले भिन्न खालको खतराको प्रतिनिधित्व गर्छन्, तथापि उनीहरूबीच एउटा समानता छ– उनीहरू दुवै छिमेकी लोकततान्त्रिक मुलुकलाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छन् । यता युरोपेली सहयोगी मुलुकका नेतामध्ये धेरैले इजरायलप्रति ऐक्यबद्धता देखाउन इजरायलको भ्रमण नै गरे । यस भ्रमणले ती मुलुक युक्रेनका अतिरिक्त इजरायल–गाजा युद्धमा पनि साथमा रहेको थप प्रस्ट्यायो । बाइडेनले युक्रेनका अतिरिक्त अब इजरायललाई पनि उसले लडिरहेको युद्धमा सघाउने हेतुले हतियार साथसाथै आर्थिक सहयोग दिलाउने प्रयास सुरु गरेका छन् ।

उनले गत साता अमेरिकी कंग्रेसमा एक विधेयक पेस गरेर इजरायल र युक्रेनका लागि कुल १०५ अर्ब डलरको सहायता माग गरेका छन् । उनले यो सहायता रकमले ‘पुस्तौँपुस्ताका अमेरिकीका लागि सुरक्षा दिने स्मार्ट लगानीको काम गर्ने’ दाबी गरे । यता युक्रेन रुससँग लड्न पश्चिममाथि अत्यधिक निर्भर छ । पश्चिमले युक्रेनलाई दिएको सहयोगमा अत्याधुनिक सैन्य सामग्रीसमेत सामेल छन् । ती हतियारले युक्रेनले युद्धमैदानमा रुसलाई रोक्न महत्वपूर्ण भूमिका निभाइरहेका छन् । पश्चिमी अत्याधुनिक शस्त्रको बलमा युक्रेनी फौजले केही स्थानमा रुसी फौजलाई माथसमेत दिएका छन् । उता इजरायलको गाजामाथिको बमबारीका बीच चीन र रुस झनै नजिकिएका छन् ।

तिनले मध्यपूर्वको समस्या समाधान गर्ने हेतुले चालिने प्रयासमा ‘निकट समन्वयमा’ केन्द्रित हुने बताएका छन् । रुसका उपविदेशमन्त्री मिखाइल बोगदानोभले अक्टोबर २० मा मध्यपूर्वका लागि चीनका विशेष दूत झाई जुनसँग दोहामा भेट गरे । इजरायलको कट्टर विरोधी समूह हेजबुल्लाहलाई सघाइरहेको इरानसँग पनि रुसले सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिरहेको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले अक्टोबर २४ मा इरान पुगेर त्यहाँका राष्ट्रपति इब्राहिम रैसीसँग भेट गरे । भेटमा दुईजनाले बहुपक्षीय साझोदारीलाई थप विकास गर्ने समझदारी भएको रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ । यसरी आक्रमकरुपमा चलिरहेको युक्रेन युद्धपछि बनेको शक्तिराष्ट्रका गुट गाजा आक्रमणमा थप बलियो बन्दै गएको छ ।