Breaking

मुगु सामूहिक हत्या : चारै जनाको शव सदरमुकाम गमगढी ल्याइयो


काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण बताए ।
चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

छायानाथ रारा(६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो ।

शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन ।

यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका छ ।

छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।
१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गइन् कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए ।