Breaking

आज कोजाग्रत पूर्णिमा : महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै


काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरू भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रूप मध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरू हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गर्दा महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास छ ।