Breaking

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईलाई


काठमाडौं– त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य यूएईले ६ विकेट गुमाएर १ बल अगावै पुरा गर्यो । कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

बसिल हमिदले अविजित २२ रन जोड्दै यूएईलाई जितसम्म डोर्याए । उनले अन्तिम बलमा चौका प्रहार गर्दै यूएईलाई जित दिलाएका हुन् । नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए । कीर्तिपुरको त्रिवि मैदानमा यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतीमा १ सय ६२ रन बनायो । ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए ।

करन केसीले १७ बलमा २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहे । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए । जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनल भिडन्तमा नेपालले नतिजा सुम्पिन पुग्यो । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो ।