Breaking

विदेशको युद्ध सकसमा नेपाली, कोही युद्ध लड्दै,कोहीलाई जागिर खोसिने डर


काठमाडौँ — विगत डेढ वर्षदेखि जारी रुस–युक्रेन युद्धले थलिएको विश्व अर्थतन्त्र इजरायल–प्यालेस्टाईन युद्धका कारण थप प्रभावित बन्न थालेको छ । रेमिट्यान्समा आधारित मुलुकको अर्थतन्त्र युद्धको चपेटामा छ । युद्धग्रस्त क्षेत्रमा अझ युद्ध चर्किदै जाँदा नेपालको अर्थतन्त्रमा ठुलो धक्का पुग्ने विश्लेषण सहित विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन । पश्चिम एसियाली मुलुक इजरायल–प्यालेस्टाईनमा जारी युद्ध थप भयवह बन्दै गएको छ । अक्टोबर सातमा प्यालेस्टानी विद्रोही समूह हमासको अकस्मात हमलापछि सुरु भएको इजरायल–हमास युद्धले पश्चिम एसिया अशान्त छ ।

इजरायल–प्लास्टाइन युद्धको बमबारीमा न्यूनतम मानवीय समवेदनाको समेत ख्याल नगरिँदा समग्र विश्व त्रसित छ । मानवीय संकट र विश्व अर्थतन्त्रमा पर्न सक्ने असरवारे अनेक दृष्टिकोणबाट बहस चलिरहँदा जारी युद्धको असरबाट नेपाल अछुतो छैन । हमास आक्रमणमा परि १० जना नेपालीले ज्यान गुमाई सकेको छ । लर्न एण्ड अर्न पढ्दै कमाउँदै परियोजना सहित एक वर्षका लागि इजरायल पुगेका अन्य नेपाली विद्यार्थीहरु एक महिनामै स्वदेश फर्कि सकेका छन ।

कञ्चनपुरका विद्यार्थी विपिन जोशी अझै वेपत्ता छन । इजरायलले युद्ध थेग्ने अपेक्षा सहित अध्ययन रोजगारी विभिन्न शिलशिलामा इजरायल पुगेका धेरै नेपालीहरु अझै काम गरिरहेका छन । नेपालको कृषिमा प्रविधिको प्रयोग र आधुनिकीकरणको सिकाई गन्तव्य बनेको इजरायल युद्ध मैदानमा परिणत भएपछि त्यसको प्रभावमा नेपाल पर्न थालेको छ । केयर गिभर र कृषि क्षेत्र लगयातका क्षेत्रमा रोजगारीका लागि आकर्षणक गन्तव्य बनेको इजरायलमा श्रमस्वीकृति बन्द भएको छ भने यसको बाछिटो खाडी मुलुकमा पनि पर्ने त होइन भन्ने डर बढेको छ ।

युद्ध थप लम्बिए नेपालीहरुको रोजगारीको गन्तव्य साउदी अरब, कतार, यूएई मलेसिया लगायतका खाडी मुलुकमा समेत रोजगारका हिसावले प्रभावित हुने विश्लेषण जारी छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएको छ । युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढ्ने पक्का छ । आयातित वस्तुहरुको अभाव, महंगी साथै नेपाली मुद्रा समेत कमजोर हुने तर्क विज्ञहरुको छ ।

आयातमुखी अर्थतन्त्र, वैदेशिक रोजगारी रेमिट्यान्सले थेगेको नेपालको अर्थतन्त्ररुस–युक्रेनपछि इजरायल हमास युद्ध थप लम्बिए नेपालको आन्तरिक अर्थतन्त्र थप खल्बलिने विश्लेषण जारी छ । बस्तुको उत्पादन वितरण र उपभोगमा समेत युद्धको प्रभाव पर्ने गर्दछ । रुस युक्रेन युद्धले थलाएको नेपाली बजार र अर्थतन्त्र इजरायल–प्यालेस्टाईन युद्धले थप नाजुक हुने चिन्ताकाबीच विज्ञहरुले इजरायल–प्यालेस्टाईन युद्ध धेरै नलम्बिने कतिपयको विश्लेषण छ ।

कोभिड महामारी दुई वर्षदेखि जारी रुस युक्रेन युद्धले विश्व वित्तिय क्षेत्र शिथिल अवस्थामा छ । रुस युक्रेन युद्ध साम्य नहुँदै सुरु भएको इजरायल हमास युद्धले विश्वको वित्तिय क्षेत्र थप आतंकित बन्ने देखिन्छ । एकपछि अर्को संकटको सामना गरिरहेको विश्व अर्थतन्त्रको प्रभावबाट नेपाली अर्थतन्त्र अछुतो छैन ।