काठमाडौँ — नेपालले एसिसी यू–१९ प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै नेपाल उपाधि जितेको हो । नेपाली क्रिकेटले दसैंका लागि सबै खेल प्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू– १९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई १९ रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ ।
मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउँदै यूएई २६.४ ओभरमा १ सय ७८ बनाएर अलआउट भयो । नेपालले पूरा प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन भएको हो र नेपाल यस उपाधिका लागि पूर्णतः हकदार रह्यो । फाइलनमा वर्षा रोकिएपछि यूएईले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सुरुमा दबाबमा राखेको थियो ।
तर नेपालले बलिङ र फिल्डिङ दुवैमा सटिक प्रदर्शन गरेको थियो । नेपालका आकाश त्रिपाठीले चार विकेट लिए भने सुभाष भण्डारीको नाममा तीन विकेट रह्यो । यूएईका लागि ध्रुव परासरले सर्वाधिक ५६ रन बनाए । उनले ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । आयान अफजल खानले ३० रनको योगदान दिए । यस्तै ओपनर आर्यन्स शर्माले ३२ रन बनाए । वर्षाले खेल रोकिँदा यूएईले दुई विकेट गुमाएर ५० रन बनाएको थियो ।
त्यस अगाडि नेपालका कप्तान देव खनालको शतकको मदतले नेपालले ५० ओभरमा आठ विकेट गुमाएर २ सय ८० रनको स्कोर खडा गरेको थियो । नेपालका लागि देवले कीर्तिमान शतक बनाए । उनले ९२ बलमा सय रन बनाए । उनले नौ चौका र तीन छक्का प्रहार गरे । यो उनको यस प्रतियोगितामै दोस्रो शतक हो भने यू– १९ मा नेपालका लागि तेस्रो शतक हो ।
देव हरित सेट्टीको बलमा समातिए । यसक्रममा उनी यू–१९ मा नेपालका लागि तीन शतक बनाउने पहिलो ब्याटर पनि बने । खराब सुरुआत गरेको नेपालले १४ रन बनाउँदासम्म दुई विकेट गुमाएको थियो । दीपक बोहराले पाँच रन बनाए भने आकाश त्रिपाठीले खाता पनि खोल्न सकेनन् । त्यसयता देवले ओपनर अर्जुन कुमालसँग १ सय २५ रनको ठोस सोझदारी गरे । अर्जुनलले ७८ बलमा ५५ रन बनाए र त्यसमा चार चौका सामेल थियो ।
उत्तर रानामगरले अन्त्यतिर उपयोगी ५७ रन बनाए । उनले ६७ बलमा चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले २८ बलमा २७ रन थपे । यूएईका बलरमध्ये हरित सर्वाधिक सफल रहे र उनले सात ओभर ३६ रन खर्चेर पाँच विकेट लिए । नेपालले देखाएको यो प्रदर्शनले आगामी दिनको नेपाली क्रिकेट जगतमा उदीयमान साबित हुने सम्भावना छ । तर यी अवसर बारम्बार जुराउन भने खेलाडी र प्रशिक्षकको मिहिनेतले मात्र पुग्दैन नेपाल क्रिकेट पूर्वाधारको हिसाबमा धेरै नै कमजोर छ ।
सुविधासम्पन्न अन्तर्राष्ट्रिय रंगशाला नभएको नेपालको क्रिकेट संरचना र विकासको चरण छैन नै भन्दा पनि हुन्छ । जिल्ला र प्रदेश तहमा रहेका संरचना चुनावमा मतदाता संकलन गर्नेभन्दा माथि उठ्न सकेका छैनन् । ग्रासरुट कार्यक्रम शून्य छ, उमेर समूहका प्रतियोगिता सीमित छन् । महिला क्रिकेटलाई बेवास्ता गरिएको छ । केही निजी एकेडेमीको उत्पादनले राष्ट्रिय टिममा खेलाडी पर्याप्त छैनन् । नेपालले अहिलेसम्म ए टिमसम्म निर्माण गर्न सकेको छैन । यो विषयमा सरकार र सरोकारवाला निकायको समयमै ध्यान जान जरुरी छ ।
प्रतिक्रिया