Breaking

क्रिकेटमा नेपाललाई संधै सफलता, बलियो टीमलाईसमेत चुनौती, पुरा होला लक्ष ?


काठमाडौँ — नेपालले बिहीबार हङकङलाई ६ विकेटले पराजित गर्दै त्रिदेशीय टी–२० शृङ्खलामा लगातार दोस्रो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा पनि नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । अब नेपालले पर्सि शनिवार फेरि हङकङसँग र आउँदो सोमवार फेरि यूएईसँग खेल्नेछ ।

दशैंको रौनकतासँगै नेपालीहरुमा किक्रेटको सफलताले खुशी थपिदिएको छ । दशैंको खुशियालीमा मानिसहरु जन्मथलो पुग्दै गर्दा मुलपानी क्रिकेट रंगशालामा नेपाली खेलाडीहरुले देखाएको प्रदर्शनले थप हर्ष बढाई गरिरहेको छ । बिहीबार भएको खेलमा पनि नेपालले हङकङलाई ६ विकेटको शानदार जीत हात पारेपछि क्रिकेट समर्थकहरु थप हर्षित भईरहेका छन् । यसले दशैंको रमझममा थप अर्को रौनकता थपिएको आभाष भईरहेको छ ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालको यो लगातार दोस्रो जीत हो । यसअघि बुधबार भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो । बिहीबार हङ्कङसँग भएको खेलमा नेपालले ९५ रनको सामन्य लक्ष्य पाएकोमा १३.४ ओभरमै ९९ रन बनाउँदै पूरा ग¥यो । आसिफ शेखले ४२ रन बनाउँदै नेपाललाई सजिलो विजय दिलाए । उनले ३४ बलको सामना गरी ६ चौका प्रहार गरे । जितसंगै क्रिकेटर करण केसीले उदेश्य नै विश्वकप रहेको र जसरी पनि विश्वकप पुग्ने लक्ष रहेको बाताए ।

अर्का ओपनर कुशल भूर्तेल ८ रनमै आउट भएका थिए । कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट भए । कप्तान रोहित पौडेल र गुल्शन झा क्रमश २५ र १४ रन बनाई खेल टुंग्याए । विजयी छक्का प्रहार गरेका रोहितले २० बल खेली १ चौका र २ छक्का प्रहार गरे । आसिफ आउट भएपछि आएका गुल्शनले दुई छक्का प्रहार गर्ने क्रममा ५ बलमात्र खेले । यता टिम राम्रो भएको र खेललाई राम्रो लयमा ल्याउनमा प्रशिक्षको रणनीति अनुसारनै खेलाडीले प्रदर्शन गरि खेल जितेको खेलाडीहरु बताउँछन् ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङ मूलपानी क्रिकेट मैदानमा १९.३ ओभरमा ९४ रनमै आउट भएको थियो । करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन् । अर्का तीव्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे ।

कुशल मल्ल र श्याम (मौसम) ढकालले १–१ विकेट लिए । अघिल्लो दिन यूएईको खेलबाट डेब्यु गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रियमा श्यामको यो पहिलो विकेट हो । करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरि विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए ।

उनले २० बल खेली २ चौका प्रहार गरे । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । दाबेदार मानिएको यूएईलाई पनि ७ विकेटले हराएसंगै यी दुई खेलले नेपाल टी ट्वान्टी विश्वकपमा जानलाई थप उत्साह र सम्भावनालाई बलियो बनाएको छ ।