Breaking

देउवा–प्रचण्डबीच खटपट, फेरिन थाले बोली, खुशी हुँदै ओली, माधव नेपालमा भने छटपटी


काठमाडौँ — कांग्रेसको विद्रोही शेखर कोइराला समूहले कोशीमा विद्रोह गरेसँगै कांग्रेस–माओवादीबीचको खटपट एकपटक फेरि सतहमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त कांग्रेसलाई पार्टी नभई क्लबकै संज्ञा दिनसम्म भ्याएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले नचाहँदासम्म गठबन्धनमा कुनै फेरवदल नहुने विश्लेषणका बीच एकअर्काविरुद्ध भईरहेका टिप्प्णीले कस्तो नतिजा ल्याउला ? कोशीमा शेखर कोईरालाको विद्रोहले निम्त्याएको असर माओवादी–कांग्रेस सम्बन्धसम्मै पर्न थालेको छ ।

अर्थात कोशी घटनापछि कांग्रेस–माओवादीबीचको विवाद र असन्तुलनको बाँध फुट्न थालेको छ । कोशीमा कांग्रेस आफै पनि सरकारको नेतृत्व छाड्ने मनस्थितिमा थिएन । तर, संसदीय दलका नेता उद्धव थापा, केदार कार्की र अमृत अर्याल तीनै जनाले मुख्यमन्त्री दाबी गरेको र कोही पनि पछि हट्न नचाहेपछि कांग्रेसले विवाद पन्छाउन माओवादीलाई समर्थन ग¥यो । तर शेखर पक्षका केदार कार्कीलाई एमालेले मुख्यमन्त्रीमा सर्मथन गरेपछि पन्छाउन खोजिएको भन्दा नयाँ विवाद कांग्रेसमा र गठबन्धनमै देखिएको छ ।

एमालेतिर गठबन्धन बलियो बनाउने सहमति गरेका शेखरले कोशीमा कांग्रेसको देउवा पक्ष र माओवादीका मन्त्री नै बनाएनन् । मुख्यमन्त्री बनेपछि देउवा र ओलीलाई भेटेपनि प्रधानमन्त्रीलाई नै कार्कीले इग्नोर गरेपछि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलबाटै असन्तुष्टि व्यक्त गरेका छन् । उनको असन्तुष्टि धनगढीमा पुगेर पोखियो । हरेकजसो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेर नथाक्ने प्रचण्डले सोमबार भने देउवालाई नछोईकन कांग्रेसकै आलोचना गरे ।

कांग्रेस–माओवादी मनमुटाब कोशीकै कारण सुरु भएको चाँही होइन । केन्द्रमासमेत सत्ता समीकरण परिवर्तन हुने चर्चा चलेसँगै त्यही मनमुटाव बिष्फोट हुन थालेको विज्ञहरु बताउँछन् । नक्कली भुटानी शरणार्थी प्रकरणको दोश्रो चरणको अनुसन्धानमा आरजू देउवा र मञ्जु खाँडहरु समेत तानिन सक्ने भएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको सरुवा गर्न बारम्बार देउवाले हस्तक्षेप गरेपछि माओवादी कांग्रेससँग रुष्ट नै थियो ।

कांग्रेसकै शेखर कोइराला समूहले खुलेयाम सरकारको विरोध गर्नु तथा कांग्रेसकै सांसद सुनील शर्मा लगायतले तथानाम बोल्दासमेत कांग्रेस रमिते बनेकोमा पनि माओवादी असन्तुष्ट छ । हुँदाहुँदा सत्तामा ठूलो भाग खाने कांग्रेस संकट पर्दा भाग्ने गरेको र माओवादीको टाउकोमा मात्रै भार थुपार्नेगरेकोमा पनि माओवादी कांग्रेससँग असन्तुष्ट छ । अर्थात माओवादीले थालेको सुशासनको अभियान कांग्रेसले तुहाइरहेको निष्कर्ष प्रचण्डको छ ।

माओवादीले चाहँदा चाहँदै पनि बीआरआईमा कांग्रेसले हस्तक्षेप गरेकै कारण प्रधानमन्त्रीको चीन भ्रमणमा त्यसबारे कुरा उठाउन नपाएकोमा माओवादी असन्तुष्ट छ । हुँदाहुँदा कांग्रेसका गुट मिलाउन समेत माओवादी नै सक्रिय भईदिनुपर्ने भन्दै माओवादी कांग्रेससँग दिक्क भईसकेको छ तर मुखै फोरेर भन्न भने सकिरहेको छैन । हुन त अहिले पनि माओवादीभित्रकै एउटा धार भने कम्यूनिष्टहरु मिल्नुपर्ने पक्षमै छ ।

कांग्रेस पनि माओवादीसँग उत्तिकै रुष्ट छ । कांग्रेस नेता बालकृष्ण खाँडलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलको हावा खुवाएपछि देउवा नै प्रचण्डसँग रुष्ट देखिन्छन् । यति हुँदा प्रचण्डले सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र बर्षमान पुनलाई किन बचाएको, हामीलाई चाँही छानिछानि थुन्ने भन्दै प्रश्न नै गरेका थिए । यस्तै ललिता निवास जग्गा प्रकरणमा समेत समाजवादी मोर्चाका सहयात्री भएका कारण माधवकुमार नेपाल र भविश्यमा पार्टी एकतासम्मकै योजना बनाईरहेका डा. बाबुराम भट्टराईलाई बचाउनु प्रचण्डको बाध्यता नै थियो ।

मन्त्रीपरिषद्का अध्यक्षहरुलाई नै बचाउँदा विजयकुमार गच्छादारलगायतलाई भने मुुद्दा चलाईएकोमा कांग्रेस असन्तुष्ट छ । यस्तै प्रचण्डले विगतमा युद्दका सारथी अहिले नेपाली सेनाका सहायक रथी यमबहादूर अधिकारीको तीन वर्ष पदावधि थप्ने र सेनाको प्रमुखसम्मै पु¥याउने जालसाझीमा पनि कांग्रेसले असहमति जनाउँदै आएको छ ।

अहिलेको गठबन्धन प्रदेशदेखि केन्द्रसम्मै फेर्न एमालेले हरसम्भव प्रयास गरिरहेको छ । तर देउवा र प्रचण्डले नचाहँदासम्म गठबन्धनमा कुनै हलचल हुन सक्ने अवस्था छैन । सत्ता जोगाउने सुत्राधार नै एकअर्काविरुद्ध गाली र आलोचनामा उत्रिएर जनताका मुद्दा बेवास्ता गरे केन्द्रदेखि प्रदेश सरकारहरुकै समीकरण परिवर्तन गर्न कुनै आईतबार कुनुपर्ने अबस्था बन्ने छैन ।