Breaking

कांग्रेसमा भाँडभैलो, शेखर तह लगाउँदै देउवा, गगन बन्दै हतियार, विद्रोहीलाई कांग्रेसमा छुट छ ?


काठमाडौँ — कोशीमा शेखर कोइराला समूहको विद्रोहले कांग्रेस सभापति शेरबहादुुर देउवा झस्किएका छन् । कोशीमा केन्द्रको निर्देशन विपरित एमालेको सर्मथनमा मुख्मयमन्त्री बनाउने शेखरको निर्णयमा असन्तुष्ट इतर समूहकै पदाधिकारीहरुसँग सभापति देउवा छलफलमा जुटेका हुन् । उनै असन्तुष्टहरुमार्फत शेखरलाई कमजोर पार्ने देउवा रणनीति देखिन्छ ।

कोशीमा शेखर कोइराला समूहले एमालेसँग मिलेर विद्रोह गरेपछि कांग्रेस सभापति शेरबहादुुर देउवा झस्किएका छन् । संस्थापनि इतर समूह देश दौडामा निस्कँदा समेत खासै मतलव नगरेका देउवा शेखरको अनपेक्षित कदमले तनाव व्यहोरिरहेका छन् । कोशीमा एमालेको सर्मथनमा केदार कार्कीको पक्षमा देखिएका सांसदलाई कारवाही गरेर भएपनि शेखरको शक्ति क्षिण पार्ने कसरत देउवाले नगरेका पनि होईनन् ।

तर संविधानले नै धारा १६८ को उपधारा पाँचमा सांसदलाई दलीय ह्वीप नलाग्ने तथा स्वतन्त्रताको अधिकार दिएकाले देउवाले आफू नै कमजोर भएको स्वीकारे र माधव नेपालपछि केन्द्रमा आफ्नो सत्तायात्रा बचाउन शेखरसँग हतार–हतार चिर्किटे सम्झौता गरे । जसमा गठबन्धनलाई शशक्त बनाउने उल्लेख गरिएको छ ।

शेखरले आफ्नै घरमा आगो लगाइ खरानीको व्यपार गरेर धनी बन्ने कदम चालेको विश्लेषणका बीच देउवाको एकोहोरो पेलानमा परेको कोईरालाको यो कदमलाई कतिपयले स्वभाविक विद्रोहका रुपमा समेत लिएका छन् । उनकै समूहका महामन्त्री गगन थापा र देउवाइतर समूहका विश्वप्रकाश शर्मासँग सल्लाह नगरेको भन्दै दुबै महामन्त्रीहरूले कोशीको निर्णयबारे अपनत्व भने लिएका छैनन् ।

गठबन्धन र पार्टीमै विद्रोह गरेका शेखरले एमालेको बलमा कोशीमा सरकार त बनाए तर त्यसले निम्त्याएको सकस भने अब केन्द्रसमै पुगेको छ । आफूमाथि शेखर एक्लै भारी पर्ने बुझिसकेका देउवा अब संस्थापन इतरकै असन्तुष्ट उपसभापति र महामन्त्रीसँग छलफलमा जुटेका छन् । अर्थात शेखरलाई तह लगाउने अश्त्रको रुपमा देउवाले उनीहरुलाई बनाएका छन् ।

हिजो महाधिवेशनमा प्रतिस्पर्धाको मैदानमा उत्रिएका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायत नेताहरु आरजुसँगै एकै मञ्चमा उपस्थित भएर संस्थापन पनि बलियो छ भन्ने सन्देश दिइरहेका छन् भने सामान्यतया सार्वजनिक मञ्चमै नदेखिने शशांक कोईरालाले पनि आफ्ना गतिविधि बढाईरहेका छन् । देउवाको सक्रियतालाई नेताहरुले लोकतान्त्रिक पार्टीमा कारवाहीभन्दा संवादको डण्डालाई देउवाले अपनाएको रुपमा बुझेका छन् ।

शेखरले पार्टी हितकै लागि कोशीमा विद्रोह गरेको बताईरहेका छन् । उनको कदमले क्षणिक फाइदा भएजस्तो देखिएपनि लामो समय नजाने गगन निकट नेताहरुको बुझाइ छ । जीवन परियार लगायत नेताहरुले पनि शेखरको कदमबारे पार्टीमा छलफलसम्म हुुनुपर्ने बताइरहेका छन् । विगतमा कांग्रेस रुपान्तरण अभियानमै हिंडेका गुरुराज घिमिरेले पनि संविधानले दिएको सुविधाको अर्थ दलगत दायराको उल्लंघन कदापी नभएको प्रतिक्रिया दिएका छन् ।

उनले सत्ता, राजनीतिक यात्राक्रमको सुन्दर देउराली भएपनि अन्तिम गन्तब्य भने नभएको बताएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापापनि शेखरको कदमसँग असन्तुष्ट छन् । गगन थापाले कांग्रेसलाई माओवादीकरण र एमालेकरण हुन नदिने बताइरहेका छन् । आगामी महाधिवेशनबाट कांग्रेसलाई कांग्रेजस्तै बनाइने बताउदै आएका छन् । विश्वप्रकाश शर्माले पनि केन्द्रमा ३२ सिटेको पछि लागेको कांग्रेसले सरकार बनाएकोमा आलोचना गर्दा कोशीमा एमालेले नै ८ सिटे बोकेको भन्दै ब्यङ्ग्य गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली शेखरको प्रयोग गरेरै प्रदेशदेखि केन्द्रसम्म माओवादीको सरकार ढाल्ने रणनीतिमा देखिन्छन् । केन्द्रमा पनि संविधानको धारा ७६ को उपधारा (५) अनुसार शेखरलाई प्रधानमन्त्रीमा सार्नेसम्मको रणनीतिमा ओली पुग्दा देउवालाई थप रणनीति बनाएर अघि बढ्नुपर्ने बाध्यता आईलागेको छ ।

कांग्रेसभित्रका यी गतिविधिहरु पार्टी बलियो बनाउनका लागि मात्र भईरहेका छैनन् । पार्टीमा बलियो कसरी देखिने, सत्तामा को र कसरी पुग्ने, तथा फुटेका कम्यूनिष्टका दुई धु्रबमध्ये कसलाई बोक्ने भन्नेबारेको लडाईं मात्रै कांग्रेसभित्र देखिन्छ । यसले कांग्रेसको क्षयीकरणलाई थप मलजल त गर्छ नै । कांग्रेस बनोस् भनेर लागिरहेका कार्यकर्तामा समेत नैराश्यताको हद पार गर्ने निश्चित छ ।