Breaking

दशैं यात्राः गुडेर जान टिकट छैन, उडेर जान पैसा छैन, टिकटमा ब्रम्हलुट, राज्य किन चुप ?


भूमिगत यातायात प्रणाली विश्वका लागि सामान्य बनिसक्दा समेत नेपालमा त्यो कल्पना भन्दा बाहिरकै अवस्थामा छ । प्रविधिको उपयोग गरी सार्वजनिक यातायातलाई सहज र छरितो बनाउने योजना त झनै परको विषय । पुरानै शैलीका कारण दशैंजस्ता चाडपर्व, मेला र उत्सवहरुमा घर जाने यात्रुहरुले दोब्बर भाडादर तिर्नु पर्ने अवस्था छ । बसपार्क डिजिटल प्रविधिमा गइसकेपछि ठूलो परिवर्तन आउँछ भने पनि यात्रुले त्यसको अनुभूति गर्न पाएका छैन ।

प्रत्येक वर्ष झै यस वर्ष पनि दशैंमा कष्टकरयात्रा गर्नु पर्ने बाध्यता कायम छ । प्रविधिले ठूलै फड्को मारे पनि नेपाली यात्रुहरुले अझै पनि त्यही पुरानै शैली अपनाई रहनु परेको छ। सडको सास्तीका बीच यात्रुले लाईन लागेरै भिडभाड र ठेलाम ठेलमा टिकट काट्नु पर्ने बाध्यता अहिले पनि ज्यू काहाँ त्यू छ । सवारी व्यवस्थापनको कमजोर तयारीले सर्वसाधारणले प्रत्येक वर्ष पाउनु सम्मको सास्ती पाउने गर्छन् ।

कतिले रातभर काउन्टरमा पालो पर्खिदा पनि बसको टिकट पाउँदैनन् भने कतिले नियमित भन्दा दोब्बर तेब्बर भाडा तिर्नु पर्छ । इ–टिकेटिङको योजना गफमै सीमित बन्ने गरेको छ । सुविधा जस्ताको त्यस्तै, भाडादर चाहीँ दोब्बर तेब्बर असुल्दा पनि यातायातव्यवसायी र तिनका प्रतिनिधिहरलाई लाज छैन ।सरकार पनि यहाँसम्म रमिते बनेको छ किअग्रिम बुकिङ टिकट खुलेको दुई दिनपछि नै बन्द हुँदा पनि लाचार बनेर बसेको छ ।

सार्वजनिक गाडीमा मात्रै होइन, हवाईजहाजमा यात्रा गर्नेहरुको अवस्था पनि उस्तै छ । परिचारिका देखि अतिथि सत्कारसम्म ध्यान दिने विमानमा पनि यात्रुले सहज यात्रा भने गर्न पाएका छैनन् । विमान कम्पनीको लापरवाहीले बिरामी, अशक्तदेखि वृद्धवृद्धासम्मले दुःख पाउने गरेकोविगतका चाडपर्वमा देख्दै र सुन्दै आएकै समस्या हो । एयरलाईन्सको लापरवाहीले सकस पाएका यात्रुहरुले एयरपोर्टभित्र नाराबाजी गरेका उदारहणहरू अहिले पनि सञ्चार माध्यममा छ्याप्छ्याप्ती पाइन्छ ।

छिटो र आरामदायी यात्राका लागि विमान रोज्ने गरे पनि यात्रुको भावनालाई बेवास्ता गर्दा यस्ता समस्या पाउनु यात्रुका लागि सामान्य जस्तै बन्ने गरेको छ । अझ चाडवाडको मुखमा दोब्बर भाडादरले हवाई यात्रा पनि नागरिकका लागि बोझनै हो ।
हवाई क्षेत्रमा हालीमुहाली गरिहरको नीजि विमान कम्पनी ऐन विपरीत छ । तर, सरकार मौन छ । वायु सेवामा नीजि क्षेत्रको मनलाग्दी भाडा असुलिरहेको भए पनि नियामक निकाय त्यसलाई नियन्त्रण गर्न सक्ने हैसियतमा छैन ।

चाडपर्वमा जुनसुकै सवारी साधनलाई एक ठाउँबाट अर्को ठाउँमा जान रुट पर्मिट फ्रि गरिदिने परम्परा छ । जसका कारण सवारी दुर्घटना पनि यही समयमा धेरै नै हुनेगर्छ । यसमा असहजता त छदैँछ यात्रुहरु असुरक्षितसमेत भइरहेका छन् ।प्रविधिको युगमा समेत नेपालको यातायात प्रणाली पुरातन शैलीमै जेनतेन चलाइनु राज्यकै लागि लज्जाबोध हो ।