Breaking

पाचौँ मुख्यमन्त्रीको दौड, गठबन्धनमै विभाजन, छुट्टै छ ओलीको दाउ, मध्यावधीको डरमा ठूला दल


काठमाडौँ — कोशी प्रदेशमा फेरि नयाँ मुख्यमन्त्रीको खोजी भइरहेको छ । कांग्रेस–माओवादी गठबन्धनसँग तत्काल सरकार गठनका लागि आवश्यक पर्ने ४७ मत छ । तर, विश्वासको मत लिन सहज छैन । सत्ता समिकरणमा फेरबदल नभए कोशीमा मध्यावधि निश्चित छ । सधै विवादित र अस्थिरताको पराकाष्टा कस्तो हुन्छ भने हेर्नुछ भने, कोशी प्रदेशको राजनीतिलाई हेरे पुग्छ । कोशी प्रदेश कहिले नामाकरणमा त कहिले सत्ता राजनीतिका कारण चर्चा छ ।

कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनले रेकर्ड नै कायम गरेको छ । महिनैपिच्छे सरकार फेरिएका छन् । अब फेरि अर्को मुख्यमन्त्रीको खोजी भइरहेको छ । अहिलेकै अवस्थामा अबको मुख्यमन्त्रीले पनि विश्वासको मत पाउने देखिदैन । त्यस्तो अवस्थामा संविधान बमोजिम मध्यावधि निर्वाचनमा धकेलिने छ । तर, ठूला दलहरुले मध्यावधि चाहेका छैनन् । प्रदेशको सबैभन्दा ठूलो एमाले प्रदेशको एकता, स्थायित्व, विकास र सम्बृद्धिको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउन थालेको छ ।

कार्की संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशमा सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतमा एक महिनाअघि मुख्यमन्त्री बनेका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो । तर, विश्वासको मत लिन नसक्ने भएपछि उनले राजीनामा दिए । कार्की यसअघि धारा १६८ को उपधारा २ अनुसार पनि मुख्यमन्त्री भएका थिए । सत्ता समिकरण फेरिएपछि कार्कीको मुख्यमन्त्री पद धरापमा परेको थियो ।

कार्कीपछि कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बने । प्रदेश सभाको बहुमतका लागि १ सांसद नपुगेपछि सभामुखको समेत हस्ताक्षर गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले अंकुश लगाइदियो । अब अन्तिम विकल्पतर्फ कोशीको सत्ता राजनीति अघि बढेको छ । उपधारा ५ अनुसार गठन हुने सरकारका लागि कांग्रेस–माओवादी गठबन्धनसँग आवश्यक बहुमत छ । तर, पहिलेको जस्तै सभाध्यक्ष यही गठबन्धनबाट हुनुपर्ने स्थिति आयो भने, अबको मुख्यमन्त्रीले पनि विश्वासको मत पाउँदैन । र, संविधान अनुरुप नै कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ ।

प्रदेश प्रमुखले आगामी शुक्रबार साँझ ५ बजेसम्म उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् । नयाँ मुख्यमन्त्रीमा कांग्रेस, माओवादी केन्द्र र राप्रपाको मुख्य दाबी छ । हालको गठबन्धनमा केही तलमाथि नभइ कोशीमा राजनीतिक स्थिरता सम्भव देखिदैन ।

अघिल्लो सत्ता गठबन्धनमा परिवर्तन सुदूरपश्चिम प्रदेशबाट सुरु भएको थियो । हाल कोशी प्रदेशबाट सत्ता समिकरण फेरिन सक्ने सम्भावना पनि छ । मध्यावधिमा जान प्रमुख दलहरूले नचाहेकाले अबको केही दिनमा नयाँ विकल्प आउन सक्छ । त्यसले केन्द्रीय राजनीतिको कोर्ससमेत परिवर्तन गरिदिन सक्छ ।