Breaking

इजरायल द्वन्द्व : प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् र सर्वदलीय बैठक


काठमाडौँ – इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ।

सर्वदलीय बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन्।

प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्दार र नेपाल फिर्तिका लागि कुटनीतिक पहल गरेका हुन्

प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्दारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका छन्।

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीहरूको अवस्थाबारे एकीन गर्न र उनीहरूको उद्दार गर्नका लागि आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अङ्गका प्रमुखहरूको आकस्मिक बैठक बोलाएका थिए।

सो बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षा लगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अंगका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक र्‍यापिड एक्सन टिम गठन गर्‍यो। उक्त टीमको बैठकले उद्दार र नेपाली फीर्तिसम्बन्धी आवश्यक गृहकार्य गरिरहेको छ। सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।