Breaking

माधवको मेची–काली अभियान, रामकुमारी झुल्किईन्, आएनन् कार्यकर्ता, ज्ञानेन्द्रप्रति झलनाथको आक्रोश


काठमाडौँ — माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजावादी, समाजवादी जागरण मेचि–महाकाली अभियानमा छ । नेतृत्वको नियतमाथी नै प्रश्न उठाउँदै केन्द्रिय नेताहरु नै धमाधम पार्टीबाट विच्किरहेका बेला पार्टी विस्तार गर्दै बलियो बन्ने माधवको सपना साकार हुनेमा थप शंका बढेको छ । समाजवादीको पार्टी जागरण अभियान पार्टीपंक्तिको चित्त बुझाउने मेलो मात्र बन्ने देखिन्छ ।

अध्यक्ष माधव कुमार नेपालकै मुख हेरेर पार्टीमा आएका नेताहरु नै पार्टी छोडिरहेका बेला नेपाल भने आफ्नो केहि थान नेता बोकेर जनतालाई पार्टीसँग जोड्न समाजावादी पार्टी जागरण अभियानमा छन् । पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल आफ्ना केहि थान नेता बोकेर समाजवादी जागरण अभियान चलाईरहेका छन । जागरण अभियानमा आफ्नै गृह जिल्ला रौतहटमा केही प्रभाव देखिएपनि अरु जिल्लामा भने केन्द्रीय नेताहरु नै पुग्दासमेत त्यति आकर्षण देखिएन ।

पार्टी संगठन निर्माण र व्यवस्थापनमा अब्बल माधव नेपाल अहिले आफ्नै पार्टी निर्माणमा कमजोर छन् । पार्टी विस्तार र बलियो बनाउन मेचि महाकारी दौडाहमा रहेका माधव नेपालले एमालेमा कमाएको साख समेत गुमाईरहेको स्पष्ट छ । पार्टी स्थापना गरेको दुई वर्ष वित्दा पनि पार्टीलाई पार्टीको आकार समेत दिन नसकेको समाजवादीको शक्ति जागरण अभियानमा थप उदाङ्गो बनेको छ । पार्टी बलियो बनाउन अन्य नेताहरुले खासै चाख देखाएका छैनन् ।

नेपालपछि दोस्रो वरियतामा रहेका झलनाथ खनाल नेता कार्यकर्ता फकाउने भन्दा आफ्नो सफाई दिने र राजावादीलाई गाली गर्नमै विताईरहेका छन । अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालको टकराव बढ्दो छ । खनाल आफुले चाहेजस्ता पद पाए एमालेमा फर्किने ओलीसँग मिल्ने मौकाको प्रतिपक्षमा रहेको विश्लेषण नयाँ होइन ।

समाजवादीले पाटी खोलेर पहिचान दिए पनि परिचय दिन नसकेको, पार्टीमा भविष्य नभएको भन्दै नेताहरु भविष्य खोज्दै एमालेमै फर्किने कसरतमा छन । नेता नेपालको हात नै समातेर निर्वाचन कार्यलयसम्म पु¥याउने, तत्कालिन समयमा नेपालको दरिलो साथ बनेका रामकुमारी झाँक्रीहरु नेपालविरुद्ध नै बोलेर थाकेका छैनन् । रामकुमारी झाँक्री जनकपुरमा झुल्किए पनि पार्टी संगठन निर्माणमा त्यति चासो देखाईरहेकी छैनन् ।

नेकपा एमालेबाट विभाजित भएर समाजवादी पार्टी खोलेका नेपालले एमाले विद्रोह र पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसक्दा झन्डै दुई दर्जन बढी नेताले नेपालको साथ छाडिसकेका छन । आफ्नै नेताहरु पार्टी खोलेर परिचय दिए पनि पहिचान नदिएको भन्दै नेतृत्वलाई लत्याउँदै नेता–कार्यकर्ताहरु बाहिरहेका बेला अहिले प्रवेश गरेकाहरु कति दिन टिक्छ भन्ने विषय गहन छ । भुँइको टिप्न खोज्दा नेपाल रित्तिदै छन । ओलीसँगको टकरावले आफैले सिन्चेको एमाले छाडेर आफनो राजनीतिक जिवनको उत्तरार्धमा नयाँ पार्टी बनाउन कस्सिएका त छन तर उनी सफल हुन्छन वा फेरी माधव माउ पार्टीमै फर्किन्छ्न अर्को बहसको विषय बनेको छ ।