Breaking

गठबन्धनमा भाँडभैलो, प्रचण्डलाई कांग्रेसको डर, ओली–प्रचण्ड पुनर्मिलनको कसरत, अत्तालिए माधव


काठमाडौँ — बारम्बार कांग्रेसबाट धम्कीको भाषा आउन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको निकटता बढाएका छन् । देउवा छोडी ओलीसँगको भेटवार्ता बढाएका प्रधानमन्त्री प्रचण्डले गठबन्धनबाट छुटकारा लिने संकेत पछिल्ला केही गतिविधिले देखाईरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणबाट फर्किसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट बाक्लिदै गएको छ ।

असोज १३ गते चीन भ्रमणबाट स्वदेश आईपुगेका प्रचण्डले त्यसको भोलीपल्टै ओलीसँग बालुवाटारमा भेटघाट गरे । त्यसको ६ दिन पछि फेरि शनिबार यी दुई नेताबीच ‘वान टू वान’ छलफलमा जुटे । एक साताको अन्तरालमा नै प्रचण्ड र ओलीको दोस्रो पटकको भेटले उनीहरुको निकटता बाक्लिन थालेको पुष्टि गर्छ । गठबन्धनभित्रै सरकार सञ्चालनप्रति व्यापक असन्तुष्टि व्यक्त हुन थालेपछि प्रचण्डले फेरि ओलीको साथ खोजेको चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको सरकार सञ्चालनप्रति गठबन्धनभित्रै व्यापक असन्तुष्टि हुँदा एक पटक होइन बारम्बार प्रचण्डको नेतृत्वमाथि गठबन्धनका नेताहरुले सवाल उठाउने गरेका छन् । सरकार सञ्चालनमा सहजीकरण गर्नु पर्ने नेपाली कांग्रेस नै आलोचनामा उत्रदा प्रचण्डलाई दवाव सिर्जना भएको छ । जसको सहयोगमा सरकार टिकाउनु पर्ने हो उसैले टेको झिक्ने दाउ गरेपछि प्रचण्डले थ्रेट महसुस गरेका छन् ।

सरकार सञ्चालनमा समस्या देखेको कांग्रेसले सदन र सार्वजनिक मञ्चबाट प्रचण्डमाथि गर्ने प्रहार निरन्तर जारी राखेको छ । देश अफ्ठ्यारो स्थितिबाट गुज्रिएको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खाली गर्न कांग्रेसका नेताले चेतावनी दिन थालेका छन् ।

कांग्रेसले सरकारको विकल्प खोजिरहँदा गठबन्धनभित्रैको अर्काे दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि ससंकित बनेका छन् । एकातिर कांग्रेसले विकल्प खोजिरहेको र अर्कातर्फ त्यसैको थ्रेटबाट प्रचण्ड र ओलीको सामीप्यता बढ्दै जाँदा माधवमा डर पैदा भएको छ । प्रचण्ड र समाजवादी मोर्चाकै भरमा आफूलाई जेनतेन राजीतिमा चलायमान बनाईरहेका माधव प्रचण्डले पानी बाराबार भएको ओलीसँग साथ खोज्ने अवस्थाको सिर्जना हुँदै जादा त्रसित बनेका छन् ।

कांग्रेसले प्रचण्डको विरोध गरिरहनु र प्रचण्डले पनि आफू सेफ ल्याण्डिङको बाटो खोज्न थालेपछि डराएको माधव प्रचण्डको विकल्प नरहेको दावी गर्छन् । गठबन्धनमा देखिएको खिचातानीमा एमाले खेल्न खोजिरहेको छ । ओलीले देउवालाई सरकारको नेतृत्व गर्न राखेको प्रस्तावमा देउवाले चाहेर पनि स्वीकार गर्न सकेनन्, न त प्रचण्डलाई नाई भन्न नै सकेका छन् । यसैको फाइदा उठाउन खोजेको एमालेको उद्देश्य नै गठबन्धन फुटाउने रपुुन प्रचण्डसँग सहकार्य गर्दै अघि बढ्ने बुझिएको छ । सहजीकरण गर्नु पर्ने कांग्रेस नै चुनौती बन्दा प्रचण्ड हच्किएका छन् ।

कांग्रेसका नेताबाट हुने बारम्बारको प्रहारबाट उनी उम्कन चाहन्छन् । यदि प्रचण्ड कांग्रेसलाई छोडेर सरकारमा टिकिरहने हो भने, ओलीसँग मिल्नुको विकल्प छैन । हिजो ओलीको बार्दलीबाट धुम्बारही पुगेका प्रचण्ड अहिले फेरि देउवाबाट ओली तिर जानसक्ने सम्भावनालाई नकार्न सकिदैन । प्रचण्ड ओली पटक पटक भेट्दा देउवासँगको भेट पातलिएको छ । नेपाली राजनीतिमा अस्थिरताका पर्याय नै बनेका प्रचण्डको प्राथमिकतामा ओली पर्दै जाँदा कांग्रेससँग छुटकारा लिन खोजेको संकेत गरेको छ ।