Breaking

प्रचण्डलाई नै माओवादी घाँडो, रुकुम रोल्पामै पार्टी छोड्ने बढे, गृहको बलमा देश दौडाहमा नारायाकाजी


काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी यतिबेला कुहिरोको कागजस्तै बन्न पुगेको छ । ज्यानको बाजी थाप्दै एक दशक युद्ध लडेको माओवादीले सत्ताभोगसँगै पुराना एजेण्डा छाडिसकेको छ । जनतासँग तीन महिने अभियान संचालन गरिरहेपनि माओवादीमा रुपान्तरणको छनक देखिएको छैन । सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएसँगै पहिलो संविधान सभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलको रुपमा उदायो ।

ज्यानको बाजी थापेर युद्धमा होमिएको माओवादीले केही गर्छ भन्ने आश एकातिर थियो भने, अर्कोतर्फ फेरि जंगल फर्किन्छ कि भन्ने त्रास पनि थियो । आश र त्रासको बलमा ठूलो शक्ति बनेको माओवादीले सत्ता भोगसँगै एजेण्डा भुल्दै गयो । परिणामस्वरुप पार्टी पनि खुम्चदै गयो । फेरि पार्टीलाई पुनर्जीवन दिने भन्दै माओवादीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जारी राखेको छ ।

कुनै समय बन्दुकको नालबाट क्रान्ति हुन्छ र परिवर्तन सम्भव छ भन्ने माओवादी सत्ताको सुख सयलमा भुलेको छ । शान्ति प्रक्रियामा आएपछि अपवादबाहेक माओवादी सत्तामै छ । दोस्रो दल भएर पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । ठूला दल कांग्रेस र एमाले आलोपालो माओवादीलाई बोक्न बाध्य छन् ।

प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिँदै गर्दा भनेका थिए–यो पटक केही गर्छु । तर, उनले भनेअनुसार सरकारको कामबाट जनताले राहतको महसुस गर्न पाएका छैनन् । सरकारको सामाजिक न्याय, सुशासन, समृद्धिको नारामाथि आमजनताबाट प्रश्न उठेको छ । कमजोरी सच्याउदै अघि बढ्ने प्रतिवद्धता जनाएको सरकार एकपछि अर्को कमजोरी गर्दै छ ।

पार्टी बालुवाटार र सिंहदरबार केन्द्रित भएकै कारण माओवादी संगठन निकै खुम्चिएको छ । जनता र माओवादी नेताको दूरी निकै बढेको छ । गरिब, श्रमजीवि वर्गको हितका लागि राजनीतिमा लागेको दाबी गर्ने माओवादी नेताहरू व्यक्तिगत सम्पत्ति थुपार्ने होडमा छन् । तीन महिने अभियान संचालन गर्दै गर्दा जनताले माओवादीमाथि अनेक प्रश्न औल्याएका छन् । जनताका सुझावको आधारमा रुपान्तरित हुँदै अघि बढ्ने प्रतिवद्धता माओवादीका नेताहरुको छ । तर, राजनीतिक विश्लेषकहरु माओवादीमा रुपान्तरण सम्भव नभएको औल्याउँछन ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेता अहिले सरकारमा छन् । उनीहरूले समाजवादको आधार तयार पार्ने भाषण गर्दै आएका छन् । सामाजिक न्याय, सुशासन र समृद्धिको भाषण छाट्न कुनै पनि कार्यक्रममा छुटाउदैनन् । तर, व्यवहारमा भने ठीक उल्टो भइरहेको छ । गरिब, श्रमजीवि जनताले देशमा सरकार भएको महसुस नै गर्न पाएका छैनन् । यही अवस्था कायम रहने हो भने आगामी दिनमा माओवादी झन खुम्चने निश्चित छ ।