समाचार

बझाङमा भूकम्पका एक दर्जन धक्का, घरहरु चिरैचिरा, प्रभावितहरु खुला चौरमा


काठमाडौँ – बझाङका भूकम्प पीडितहरुले खुला आकासमा रात बिताएका छन् । राति र आज बिहान पनि साना धक्का गइरहेकाले उनीहरु घर फर्किन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भूकम्पपछि कोही पनि घरमा बस्न नसकेको बताए । ‘घर फर्किने अवस्था छैन, सबैले खुला स्थानमा रात बिताउनुभयो,’ उनले भने ।

कोहीले बुधबार नेपाल रेडक्रसले उपलब्ध गराएको ४० वटा त्रिपाल मुनि र कोहीले आफ्नै व्यवस्था गरेर रात काटेका छन् ।

मंगलबार दिउँसो २ः४० बजे बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि १० पटकसम्म भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको विवरणमा उल्लेख छ । ती कम्पनहरु ५ देखि ४ म्याग्निच्युडसम्मका छन् ।