Breaking

गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजेः अध्यक्ष ओली


काठमाडौँ– नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको छ । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाउनुभयो ।

सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको बताउनु भयो । उहाँले सरकार चरम अनुत्तरदायी र गैर जिम्मेवार भएको बताउनु भयो । सरकारले संविधान दिवसको अवसर पारेर मुस्कान खातुनलाई एसिड हान्ने व्यक्तिको कैद मिनाहा गरेको भन्दै आपत्ति जनाउनु भयो । त्यस्तै नेपालगञ्जमा हत्या अभियोगमा कारागारमा परेका रिगल डन भनिने योगराज ढकाललाई पनि उन्मुक्ति दिएको प्रति ओलीले आपत्ति जनाउनु भयो । सरकारले सांसदहरुलाई विभिन्न बहानामा तर्साउन खोजिरहेको उहाँको भनाई छ । अध्यक्ष ओलीले सरकारले राष्ट्रिय स्वाभिमान र गौरव बिरोधी, संविधान बिरोधी, राष्ट्रहीत र जनबिरोधी काम गरिरहेको पनि बताउनु भयो ।