Breaking

प्रचण्डको परराष्ट्रमा फड्को, जिते चीन र अमेरिकाको मन, राष्ट्रियताको मुद्दा भने ओझेलमा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुटनीतिक हिसाबले कच्चा पात्र मानिन्छन् । आफ्नो तेस्रो कार्यकालमा केहि गरी छाड्ने प्रण गरेका प्रधानमन्त्री प्रचण्डले विदेश मामिला सञ्चालनमा समेत नयाँ फड्को मारेका छन । नौ महिने कार्यकालमा दुवै छिमेकी मुलुकको औपचारिक भ्रमण, संयुक्त राष्ट्रसंघको महासभा र अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेट कति उपलब्धिमुलक होला लेखाजोखा जारी छ । तर विदेश सम्बन्ध सञ्चालनमा प्रधानमन्त्री प्रचण्डको नौ महिना खास र चर्चापूर्ण रह्यो । गठबन्धनको भरथेगमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हालिरहेका छन् ।

पुष १० मा तेस्रो कार्यकाल प्रारम्भ गरेका प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको क्याम्प त्यागेर कांग्रेस सभापति शेरबहादुर देउवाको साथले सत्तामा छ । प्रधानमन्त्रीको तेस्रो कार्यकालमा केहि गरी छाड्ने हुटहुटी मात्र होइन प्रण नै गरेका प्रचण्ड सत्तामा पुगेको नौ महिना वित्यो । ठुला भ्रष्टचार प्रकरणको फाईल खोल्ने र विदेश भ्रमण मुख्यत यी दुई विषयले प्रचण्डको ९ महिने कार्यकाल विवाद र चर्चाको केन्द्रमा रहिरह्यो । अहिले १५ दिन लामो विदेश भ्रमण सक्काएर शनिवार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डको दुई महाशक्ति अमेरिका र चीन यात्राको चर्चा उत्कर्षमा छ ।

कुटनीतिक मामिला सञ्चालनमा कच्चा ठहरिएका प्रचण्डको भर्खरै सम्पन्न विदेश यात्रा पनि थोरै प्रशंसा र धेरै आलोचनाबाट अछुतो रहन सकेन । गन्तव्य संयुक्त राष्ट्रसंघको महासभा र सम्बोधन भए पनि देशका हिसावले अमेरिका यात्रा चासोमा रह्यो । तामझामका साथ विदेश उडेका उनको खल्लो स्वागत र दौरा सुरुवालमा उडेका उनी टाइसुटमा ओर्लिएसँगै आलोचित बने । पटक पटक नेतृत्वमा पुगे पनि शान्ति प्रक्रियालाई पूर्णता नदिदा अन्तराष्ट्रिय समुदायको दवाव खेपिरहेका बेला उनकै भाषामा भन्दा दोस्रो पटक साम्राज्यवादमाझ टिआरसी विधयक टुङग्याउने प्रतिवद्धता सहित सहयोग समेत मागेर फर्किए ।

दौरा सुरुवालको खोजी भएपछि अमेरिकी राष्ट्रपतिसँग दौरा सुरुवाल पहिरनमा देखिए । पहिलो पटक अमेरिकाबाटै उत्तरी छिमेकी चिन उडे । चीनमा प्रधानमन्त्री प्रचण्डलाई गरिएको स्वागत र कुटनीतिक सौहार्दताको प्रशंसा जारी छ । अमेरिकी राष्ट्रपति जो बाइडन लगत्तै चीनियाँ राष्ट्रपति सी, प्रधानमन्त्री लि छ्याङसँग भएको उच्चस्तरीय भेट अर्थपूर्ण रह्यो । तर प्रधानमन्त्रीस्तरीय भेटवार्ता केवल औपचारिकतामा सिमित रह्यो । आम चासोमा रहेको चुच्चे नक्सा र विआरआईको विषय नै उठान नहुँदा प्रधानमन्त्रीको यात्रा आलोचित छ ।

छिमेकी मुलुक भारतको भ्रमणपछि पनि प्रधानमन्त्री प्रचण्ड चौतर्फी घेराबन्दीमा नपरेको होइन । नागरिकता विधेयक पास गरेर, भारतकै इशारामा ओलीको साथ छाडेर देउवा क्याम्पमा सरेका प्रचण्ड भारत भ्रमणको स्वागत विन्दुमै विवादमा तानिए । चुच्चे नक्सामा चुप, गेरुवस्त्र देखि मुर्रा भैसीको विषयले दुई पक्षीय भेटवार्ता र सम्झौताहरु नै ओझेलमा परेको थियो । कुटनीतिक हिसावले आ–आफ्नो प्रभाव जमाउन उदत्त तीन देशमा भएको प्रधानमन्त्रीको यात्राबारे विश्लेषकहरुको आ–आफ्नै विश्लेषण छ । कुटनीतिक रुपमा प्रधानमन्त्रीले उठान नगरेका विषय होस् या औपचारिक भ्रमणमा प्रधानमन्त्रीले पाएको कुटनीतिक सौहार्दताले सम्बन्ध सुधारमा अर्थ राख्ने तर्क कतिपयको छ ।

प्रधानमन्त्री बन्नासाथ न चीनमुखी न भारतमुखी न त अमेरिकामुखी, नेपालमुखी बनेर विदेश नीति सञ्चालन गर्ने दावी प्रधानमन्त्री प्रचण्डको थियो । स्वतन्त्र र असंलग्न विदेश नीतिका बाबजुत कुटनीतिक मामिलामा नेतृत्वको अपरिपक्व व्यवहारको सामना मुलुकले वेहोर्दै आएको छ ।

भारत भ्रमण जाँदा प्रचण्डको तयारी र पछिल्लो समय छिमेकी मुलुक चीन जानु पुर्वको तयारी, अमेरिकी बाटोलाई रोज्नु असन्तुलित अभ्यासको रुपमा समेत व्याख्या भईरहेको छ । बदलिँदो भु–राजनीतिक परिदृश्य, नेपालको भु–रणनीतिक अवस्थिति र बढ्दो त्रि–देशीय कुटनीतिक प्रभावकाबीच प्रचण्डको विदेश यात्रा र कुटनीतिक उपस्थितिले अन्तराष्ट्रिय मामिलामा थप चासो बढाएको छ ।