Breaking

कांग्रेस–एमाले सक्न हौसिए रवि, प्रचण्डका कार्यकर्ता रास्वपामा, १९ जिल्लाका जनताबाट के आयो सन्देश ?


काठमाडौँ — १० वर्षे सशस्त्र द्वन्द्व र माओवादी आन्दोलनको केन्द्रको रूपमा परिचित रोल्पादेखि दुर्गमका १९ जिल्ला पुगेर जनताको नाडी छामेको रास्वपाको मनोबल उच्च बनेको छ । गाउँ गाउँ पसेर पुराना दलप्रति स्थानीयको वितृष्णा र आफूहरु प्रति भरोसा देखेका रविले आफ्नो दृष्टि ०८४ को चुनावमा केन्द्रीत गरेका छन् । पार्टी स्थापनाको १०० दिन पनि नपुग्दै आम निर्वाचनमा सहभागी भएर २० सीट जित्दै उल्लेखनीय सफलता हात पारेको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष अहिलेदेखि नै आगामी ०८४ को चुनाव देखिएको छ । राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै सत्ता यात्रादेखि प्रतिपक्षी दुवैको अनुभव बटुलेको पार्टी पछिल्लो समय संगठन विस्तार भन्दै देश दौडाहामा लागेको छ ।

जन आवाज सुन्ने कार्यक्रम भन्दै असोज ३ देखि ७ गतेसम्म रास्वपाका सभापति रवि लामिछाने लगायत १९ केन्द्रीय सदस्य र सांसदहरु रोल्पासँगै दुर्गमका १९ जिल्लामा अभियान नै चलाएर खटिए । जसमा द्वन्द्वकालीन पीडितहरुले समेत रास्वपामा आश देख्न थालेका छन् । दुर्गम भेगका कुना कप्चेरा पुगेर स्थानीयको नाडी छाम्न थालेको पार्टीले सोचेभन्दा बढी स्थानीयको साथ र भरोसा पाएपछि पार्टी नेतृत्व हौसिएको छ । दुर्गममा जनताको जनभावना बुझेर आएका सभापति रविले पुराना पार्टीको जनाधार सकिएको र अब एउटा राजनीतिको सटर बन्द हुनैपर्ने भन्दै पुराना पार्टीहरुलाई चेतावनीको भाषा बोल्न थालेका छन् ।

परम्परागत दलभित्रको गुटबन्दी र एकात्मक शक्तिले पार्टी सञ्चालन हुँदा पनि रास्वपाका सभापति लामिछाने हौसिएको देखिन्छन् । पुराना दलप्रति जनताको वितृष्णा बड्दै जाँदा रास्वपाले मुख मिठ्याउन थालेको देखिन्छ । सरकारमा भएकै दलहरु संगठन विस्तारमा गाउँ गाउँ पुग्दा निराश हुनु परेको फाइदा रास्वपाको पोल्टामा खनिँदा लामिछानेलाई थप बल पुगेको छ । पुराना दलहरु आपसमै लडेर सकिने बुझेका रविले आगामी चुनावमा आफ्नो उदय सुनिश्चित देखेका छन् । दशकौँदेखि हालीमुहाली गरिरहेका पुराना दलहरु नसच्चिने हो भने विरासत बोकेको पार्टीको विकल्पमा रास्वपा आउने बुद्धिजीविहरुको पनि बुझाई छ ।

राजनीतिक दलका नेताहरुको सबै गतिविधि चाल पाईसकेको रवि मुलुकमा व्याप्त बेथितिको ठीक गर्ने अन्तिम अवसरको रूपमा बाँकी ४ वर्ष मिलेर काम गर्न पुराना दललाई सचेत गराइरहेका छन् । तर, ०८४ आउन अझै धेरै समय बाँकी छ । रास्वपा उदाउन जम्मा ३ महिना लागे झै उनी जस्तै अन्य विकल्प आउन सक्ने सम्भावनालाई पनि नजर अन्दाज गर्न सकिँदैन । चुनावको समयमा विदेशीको प्रत्यक्ष हस्तक्षेप हुने हाम्रो जस्तो देशमा राजनीतिक शक्तिहरु कुन बेला उदाउँछ र कुन बेला अस्ताउँछ केही ठेगान हुँदैन । कुनै बेला रविको भन्दा बढी दम्भ भएको उपेन्द्र यादव अहिले उपनिर्वाचनबाट सदन छिर्न पर्ने अवस्था बनेको छ । चुनाव आउन अझै चार वर्ष बाँकी रहेको अवस्थामा अहिले नै हौसिनु रवि र पार्टी दुवैका लागि केही हतार हुने हो कि ?