राजनीति

नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा सहमति जुटाउने प्रयास असफल


काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा सहमति जुटाउने प्रयास असफल भएको छ । बिहान अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीसँग गरेको सहमतिको प्रयास असफल भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचन मण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकाङ्क्षी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गरेको थियो ।

छलफलमा मुख्यगरी ढुङ्गेल र दाहाल दुवैले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि मतदानमार्फत नै छिनोफानो हुने गरी संवाद सकिएको हो । अध्यक्षका आकाङ्क्षी ढुङ्गेल र दाहालले पनि अव मतदानमार्फत नै नेतृत्वको छिनोफानो हुने बताएका छन् । सुरुमा अध्यक्ष पदका आकाङ्क्षी ५ जना रहेकोमा सानु श्रेष्ठ, कृष्णभक्त पोखरेल र केशव पाण्डे भने सहमति गर्न केही लचकता देखाएका थिए । एमाले बागमती प्रदेश अधिवेशनमार्फत पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्यसमिति चयन हुँदैछ । निर्वाचन मण्डलले आज साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बिहीबार बिहान ८ बजेबाट ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।