Breaking

कर्णालीमा प्यानल उम्मेदवारी दिने कँडेल पक्षधरको तयारी


काठमाडौँ – नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व लिनेगरी यमलाल कँडेल पक्षधरले प्यानल उम्मेदवारी दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार, आइतबार साँझ कँडेलकै निवासमा भएको प्रतिनिधिहरुको भेलाले गुलाबजंग शाहलाई प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ ।
प्रदेश अध्यक्षकै आकांक्षा राखिरहेका ध्रुब शाहीलाई सचिवको उम्मेदवारमा मनाएर शाहलाई अध्यक्षको उम्मेदवार बनाउने यो समूहले निर्णय गरेको छ ।

उपाध्यक्षको उम्मेदवार टेकराज पछाई, दुई उपसचिवको उम्मेदवार रवीन्द्र शर्मा र कौशिला परियार वा बानसिं खत्री उम्मेदवार बन्नेछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो समय असन्तुष्ट बनेका कँडेलले अलग्गै प्यानल बनाएपछि अरु आकांक्षीहरुले पनि समूहको छलफल अगाडि बढाएको ती स्रोत बताउँछन् ।

कर्णालीको अध्यक्षमा प्रदेश उपाध्यक्ष लालबहादुर महतारा, योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाही र पूर्वसभामुख राजबहादुर शाहीले पनि आकांक्षा राखेका छन् । यी मध्ये शाही उम्मेदवार बन्ने लगभग पक्का देखिएकाले कँडेल पक्षधरले अलग समूह तयार पारेको बताइएको छ । कँडेलइतर पक्षलाई भने अर्का नेता गोरखबहादुर बोगटीले साथ दिएका छन् ।