समाचार

झापामा रोकिएन शसस्त्र प्रहरीको अशुली धन्दा

समयमा लाईन नबुझाएको तस्करसँग दैनिक लफडा


काठमाडौँ– सशस्त्र प्रहरी बलका केही घुमुवा प्रहरी ब्यापारी बाट घुस वापतको रकम असुल गर्न नपाएको झोकमा गुण्डागर्दीमा उत्रिएका छन् । बराह बहिनीबाट पुर्वी नाका काकडभिट्टामा खटिएका धुमुवाहरु खुलेआम गुण्डागर्दीमा उत्रिएका हुन् । डिआइजी अञ्जनी पोख्रेलले पूर्वी नाकामा खटाएका घुमुवाहरु देवीभक्त राई र दलबहादुर तामाङ्गको गैह्र ब्यवसायिक गतिबिधिले टोले दादाको छनक दिएको छ । घुमुवा खटिएका सहायक हवल्दारहरु देवीभक्त राई र दलबहादुर तामाङ्गले स्थानीय ब्यापारीसँग मासिक लिनुपर्ने घुस वापतको रकम ढिला गरेको भन्दै कुटपिट र लछारपछार गरेको घटना सार्वजनिक भएको छ । गत शनिबार मेचीनगर–३ स्थित धर्धरे नजिकै केही महिला र दुई पूरुषहरुविच भनाभन भएको थियो ।

सो लफडा अरु केही नभई सहायक हवल्दारद्वय देवीभक्त राई र दलबहादुर तामाङ्गले तस्करी गराउन भनि लिएको ५५ हजार रुपैया महिना सकिएसँगै सकिएको र त्यतिनै रकम अग्रिम भुक्तानी नगरेवापत उनिहरुको सामान पक्राउ गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । महिना मरेकोले उनीहरुको तस्करीको सामान समातेको र सोही सामान बचाउनको लागि उक्त स्थानमा समस्या उत्पन्न भएको स्थानिय रमेश भुर्तेले जानकारी दिए । घुमुवा सहायक हवल्दारहरुले अरुबेला आफैँ स्कटिङ्ग गरी तस्करीको सामान धुलाबारीसम्म लान सहयोग गरिदिने गरेकोमा उक्त दिन समात्न खोजेपछि पोके तस्करीमा संलग्नहरुसँग भनाभन शुरु भएको थियो । लफडा शुरुभएपछी घुमुवा देवीभक्त राईले एक महिलाको घुडाँमा छुरी समेत प्रहार गरेका छन् । महिलामाथी हातपात गर्दै अपशब्द प्रयोग गर्न थालेपछी उनिहरुलाई स्थानिय गाँउलेहरुले घेरेर राखेका थिए । काँकरभिट्टाका युवा उपकार प्रधानको सहयोगमा घुमुवा सहायक हवल्दारहरु त्यहाँबाट उम्कन सफल भएका थिए ।


घटना यतिमा मात्र सिमित रहेन । सोही घटनामा उपस्थित रहेका स्थनीय मन्दिप राजवंशीलाई काँकरभिट्टामा सोही दिन रातको ९ः३० वजे सहायक हवल्दार राई र तामाङ्ग सहित नकलबन्दा बोडर आउटपोष्टका सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडाले गुडिरहेको बाइकबाट तानेर लडाए । उनको टाउकोमा हतियार तेर्साएर डिआइजिले उठाउनु भनेको छ भन्दै कुटपिटमा उत्रिए । त्यहाँबाट फुत्कीएका मन्दिप राजवंशीले अन्य साथीहरुलाई घटनाको बारेमा जानकारी गराए र आइतबार दिउसो इलाका प्रहरी कार्यालयमा उजुरी दिन जाने क्रममा काँकरभिट्टा स्थित भट्टराई चोकमा पुनः देवीभक्त राइले मन्दिप राजवंशीको बाटो छेके । सबै देखिरहेका उनका साथीहरु उक्त स्थानमा आएपछि राई दौडदै मेची भन्सार परिसरमा पसे । उक्त क्रममा राइको घुँडामा चोट समेत लागेको पाइएको छ । घटनाको विषयमा बुझ्न आएका काँकरभिट्टा गुल्मका डिएसपी रोहित घिमिरेकै अगाडी उक्त देवीभक्त राईले इलाका प्रहरी कार्यालय परिसरमा महिलाहरुलाई देखाँउदै हातको इसाराले अश्लिल संकेत देखाएका थिए । घटनामा उपस्थित पत्रकार मुक्ती पौडेलले राईले अस्वभाविक अश्लिल हर्कत गरेपछि सशस्त्र प्रहरीको गतिविधि नै समाजको लागि अपच्य भएको गुनासो डिएसपी घिमिरेलाई गरेका थिए ।
सई खतिवडा र घुमुवा हवल्दारको शंकास्पद गतिविधि
काँकरभिट्टा गुल्मको एरियामा पर्ने बद्री टोल र चर्च क्षेत्रबाट तस्करी गर्नको लागि स्थानिय व्यपारी राजन खड्का र रञ्जित कट्टेलको लाइन खाएको आरोप डिआइजिका घुमुवाहरुमाथि छ । खड्काले भारतबाट कपडा लगायतको वस्तुहरु तस्करीको रुपमा नेपाल ल्याउन देवीभक्त राईलाई मोटो रकम दिएको बुझिएको छ । यसको लागि रातको समयमा उक्त सामानहरुलाई घुमुवा सहायक हवल्दार दलबहादुर तामाङ्ग, देवीभक्त राई र जिल्लाबाट असइ प्रेम बस्नेतको कमाण्डमा खटिएको टोलिले स्कटिङ्ग गरेर नाका कटाउने गरेको भिडियो समेत प्राप्त भएको छ ।

उक्त भिडियोमा काँकरभिट्टा गुल्मबाट असुलिमा खटिएका दुई घुमुवा प्रहरी समेत देखिएका छन् । उक्त घटनाको पछाडी सशस्त्र प्रहरी नायब निरिक्षक युवराज खतिवडा र बराह बाहिनीबाट खटिएका घुमुवाहरुको मुख्य भुमिका रहेको बुभिएको छ । उनिहरुलाई मासिक २ लाख रुपैँया दिएको जानकारी छ । त्यस्तै नकलबन्दा विओपीका सई युवराज खतिवडाले स्थनिय व्यवारीहरुबाट गोरु, बाख्रा तथा सुँगुरको पाठा कटाउन भनी मासिक रुपमा रकम लिने गरेको पाइएको छ ।
डिआइजीको घुमुवा सधैँ विवादमा
घटना नं १
डिआइजी अञ्जनी कुमार पोख्रेलले पाठाएका घुमुवाहरु सधैँ विवादमा आउने गरेका छन् । गत जेष्ठ ३० गते रातको समयमा डिआइजीले पठाएका घुमुवा सशस्त्र प्रहरी निरिक्षक नवप्रभाव राईले नकलबन्दा बोडर आउटपोष्टका सबै प्रहरी र कर्मचारीलाई मेची नदिमा चोबाल्दै कुट्दै गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटना डिआइजी पोख्रेलले उनिहरुलाई असिमित अधिकार दिएको कारण भएको थियो । उक्त घटनाले सशस्त्र प्रहरीको छविमा समेत प्रश्न उठाएको थियो ।
घटना नं २
गत साउन ३० गते झापा बाहुण्डाँगी स्थित बौद्धमोडमा रातको समयमा तस्करीको सामान बरामद गरेको क्षेत्रको टोलीले सामान छोडिदिए वापत २ लाख रुपैया लिएको घटना बाहिर आएको थियो । उक्त घटनामा ७ पोका कपडा मध्ये ५ पोका छोडिदिएको र तस्करीमा संलग्न चतुरे नाम गरेका व्यक्तिले सशस्त्र प्रहरीका सहायक हवल्दार विकास श्रेष्ठलाई २ लाख बुझाएको भिडियो तस्कारीमा प्रयोग भएको गाडिका चालकले लिक गरेका थिए । भिडियोमा उक्त रकम जिल्लाका एसपीलाई समेत दिनुपर्ने भनेको सुनिएको छ । घुमुवा श्रेष्ठलाई समेत डिआइजीले पाठाएका थिए । तर, यसमा संलग्न घुमुवा श्रेष्ठ डिआईजिकै संरक्षण रहेको बुझिएको छ
घटना नं ३
डिआइजीले पठाएको घुमुवा भन्दै एक टोलीले झापा बिर्तामोड स्थित बिर्तासिटि अस्पतालमा काँकरभिट्टाका महिला व्यापारीहरुसँग १ लाख ५० हजार रुपैया लिएको कुरा समेत सतहमा आएको छ । धुलाबारी देखि विर्तामोडसम्मको जिम्मा बिर्तामोडका तस्कर लक्ष्मण कट्टेलले लिने र भारत देखि धुलाबारी सम्म आफूँहरुले दुःख नदिने भन्दै विकास श्रेष्ठकै अगुवाईमा रकम लिइएको थियो । यता, यो सबै घटना थाहा पाएर पत्रकारलाई सुनाएको भन्दै बिकासकै निर्देशनमा मन्दिप राजबंशीलाई फसाउन शसस्त्र प्रहरीको पुरै संगठन नै लागेको जानकारहरु बताउँछन् ।
घटना नं ४
असोज ६ गते शनिबार झापा मेचीनगर ३ मा महिला व्यवसायीहरु र डिआइजीका घुमुवाहरु विच झगडा भएको छ । उक्त झगडामा घुमुवा देवीभक्त राई र दलबाहादुर तामाङ्गले महिलाहरुलाई हातपात गरेको र छुरीले हान्दा एक महिलाको घुँडामा चोट समेत लागेको छ । उक्त घटना भएकै दिन सोही घुमुवाले काँकरभिट्टामा एकजना स्थानियलाई गुण्डागर्दी शैलीमा कुटपिट गरेका थिए ।

कुनै समय सिमामा तस्करी गराउनकै लागि बनाइएको संगठनको अनुभुति हुने सशस्त्रप्रहरी बल नेपालको छविमा डिआइजी अञ्जनी पोख्रेल आएपछि केहि सुधार भएको थियो । उनले सिमावर्ती क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा अपत्यारीलो भुमिका निर्वाह गरे । तर, उनकै निर्देशनमा आउने घुमुवाहरु भने सँधै विवादमा आइरहे । कारण हो, घुमुवाले अवैध असुली र ड्युटीका कर्मचारीले नजराना उठाउनु । पोख्रेलले धरातलमा के भइरहेको छ भनि नबुझ्नु र विश्वास पात्रहरुले नै उनको नीतिको धज्जी उडाउनु हो ।

बराह बाहिनीबाट आउने घुमुवाहरु कस्लाइ पठाउने भन्ने निर्णय वा घुमुवाको छनोट सशस्त्र प्रहरी निरिक्षक प्रेमकुमार राइले गर्ने गरेको बुझिएको छ । राई यसअघि नै काँकरभिट्टामा लामो अवधी इन्चार्ज बसेको र करोडौँ असुली गरेको अनुभव उनमा छ । त्यसैले कहाँ कोबाट पैसा उठाउने भन्ने कुराको राम्रो ज्ञान भएका इन्स्पेक्टर राईले डिआइजिको नाममा आफ्ना विश्वासपात्रहरु पूर्व पठाउने गरेको बराह बाहिनी पकलीका एक प्रहरी अधिकृतले जानकारी गराए । उनका अनुसार डिआइजीलाई यसबारे ज्ञान नभएको र राईकै रिपोर्टिङ्गलाई विश्वास गरेको कारण सशस्त्र प्रहरीबल बराह बाहिनी पटक–पटक विवादमा आइरहेको छ ।