Breaking

१३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको नयाँ दिल्ली प्रस्थान


काठमाडोँ–प्रधानसेनापति प्रभुराम शर्मा १३ औँ ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा ८ देखि १० असोजसम्म अमेरिकी सेना र भारतीय सेनाले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनम सहभागी हुन शर्मा आज दिल्ली प्रस्थान गरेका हुन् । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो(प्यासिफिक’ भनिएको छ । शर्माको भ्रमणलाई मन्त्रिपरिषद्को २३ भदौको बैठकले स्वीकृत गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् । प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि सहभागी छन् । उपरथी शर्मा र सेनानी गौतम ‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’ आईपीएसीसीमा सहभागी हुनेछन् । नेपाली सेनाले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको थियो, यसपटकको सहभागिता त्यसैको निरन्तरता भएको बताएको छ ।