Breaking

सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ


काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा एक सांसदले सुन तस्करी प्रकरणको अनुसन्धानप्रति आशंका व्यक्त गर्दै मन्त्रीको जवाफ माग गरेपछि मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सिआइबिलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न आफूले निर्देशन दिएको भन्दै उहाँले अनुसन्धानमा कुनै प्रकारको हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको हो । उहाँले तथ्य, प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पु¥याउन प्रहरीलाई कडा निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान खुला रहेको भन्दै आगामी दिनमा पनि हस्तक्षेप बेगर अगाडी बढ्ने बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले सर्लाही घटनालाई सरकारले गम्भिरतापूर्वक लिएको बताउनु भयो । सर्लाहीको मलंगवा वडा नम्बर ३ मा गणेशको मूर्ती सेलाउने क्रममा हिन्दु युवाहरुमाथि सांघातिक हमला भएको थियो । त्यहाँको समस्या समाधान गर्न आफूले जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिहेको उल्लेख गर्दै आवश्यक परेमा एक, दुई दिनमै नयाँ निर्णय लिइने बताउनु भयो । उहाँले प्रहरी संयन्त्रको कमजोरी हुन नदिने पनि बताउनु भयो । गृहमन्त्री श्रेष्ठले आफूलाई अकास्मात रुपमा समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । मन्त्रि श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभएपनि सांसदहरुले मन्त्रि श्रेष्ठलाई बोलाउन माग गरेपति समिति सभापतिले उहाँलाई बोलाउनुभएको थियो । उहाँले समिति बैठकमा मन्त्रिलाई लोकतान्त्रिक मूल्य, मान्यता र प्रणाली अनुरुप बोलाउनुपर्ने बताउनु भयो । उहाँले मन्त्रि भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने बताउनु भयो ।