Breaking

राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छः सञ्चारमन्त्री शर्मा


काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताउनुभएको छ । आईतवार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौति रहेको पनि बताउनु भयो ।

उहाँले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौति थपेको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानून, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठिक छ भन्न नसकिने बताउनु भयो । हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार, २०८० बाट कान्तीपुर टेलिभिजनका पत्रकार महेश केसी र नेपाल टेलिभिजनका शिव सिलवालाई सम्मान गरिएको छ ।