काठमाडौँ — क्यानको नेतृत्वमा फेरि पनि चतुर बहादुर चन्द नै दोहोरिएका छन् । अध्यक्षका लागि उनी निर्विरोध चयन हुँदा सचिवका लागि भने पारसले कडा प्रतिष्पर्धा गर्नु पर्याे । निर्वाचित नयाँ कार्यसमितिलाई क्रिकेट विकाशको रोडम्यापको खाका बनाउनका लागि नयाँ नेतृत्वलाई चुनौती थपिएको छ । चतुरबहादुर चन्द फेरी पनि नेपाली क्रिकेटको नेतृत्वमा आएका छन् । चार बर्षअघि नेपाली क्रिकेट राजनीतिका माहिर खेलाडी विनयराज पाण्डेलाई पछार्दै क्यान सम्हाल्न आईपुगेका उनलाई समयचक्रले पुनः दोहोर्याएर क्रिकेटको बाग्डोर सम्हाल्ने अवसर जुराएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को शनिबार सम्पन्न केन्द्रीय निर्वाचनमा उनलाई चुनौती दिने भनिएका विनयराज भण्डारी अन्तिम समयमा पछि हटेसँगै चतुर निर्विरोध अध्यक्षका लागि चुनिएका हुन् । अब फेरि पनि नेपाली क्रिकेटको नयाँ अध्याय लेख्ने जिम्मेवारी उनै चतुरको काँधमा आएको छ । क्यानको नेतृत्वमा सर्वसम्मत चुनिएपछि चतुर चुनौतीले घेरिएका छन् ।
र यसबारे उनी पनि जानकार नै छन् । क्रिकेटप्रति नेपाली जनताले देखाएको माया र अपेक्षालाई चतुरले नतीजामा परिणत गरेर देखाउनु पर्ने छ । सारा खेलकुदको नै पनि अपेक्षा रहेको क्रिकेटमा त्यसलाई सम्बोधन गर्दे विकाशको रोडम्याप कोर्ने जिम्मा चतुरकै काँधमा छ । एकदिवसीय मान्यता कायम राख्न सफल नेपाली क्रिकेटलाई टेष्ट राष्ट बनाउन आधारशीला तय गर्नु पर्ने छ ।
त्यस्तै दुई दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आफ्नो काँधमा लिएर हिडेका पूर्वकप्तान पारस खड्काले ४८ मतका साथ सचिवमा निर्वाचित भएका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका उनले यसअघि कार्यबहाक सचिवका रुपमा काम गरिसकेका प्रशान्तविक्रम मल्ललाई ११ मतले पराजित गर्दै कार्यकारी पदमा आफूलाई उभ्याएका हुन् ।
खेल जिवनबाट सफलता प्राप्त गरेका उनलाई अब त्यही सफलतालाई व्यवस्थापकीय भूमिकामा पनि निरन्तरता दिनु पर्ने चुनौती थपिएको छ । खेलाडी हुँदा पटक पटक संघमाथि औँला तेस्र्याउँदै प्रश्न उठाउने उनी समस्या समाधान गर्ने पदमा पुगेका छन् । क्रिकेट विकाशका लागि तयार पार्नु पर्ने ग्रास रुट देखि भौतिक संरचाना र खेलाडीका सरसुविधाका लागि उनी खरो रुपमा उत्रनुपर्ने चुनौती थपिएको छ ।
क्यानको सचिव बाहेक अन्य पदाधिकारीहरु भने सर्वसम्मत चयन भएका छन् । यसअघिका कोषाध्यक्ष रोशनकुमार सिंह उपाध्यक्षमा र कोषाध्यक्षमा पमदबहादुर खड्का निर्विरोध चुनिएका हुन् । क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भए् । एक सचिव र १० सदस्यका लागि चुनावी प्रतिस्पर्धा हुँदा अध्यक्षमा चन्द, उपाध्यक्षमा सिंह, कोषाध्यक्षमा पदमबहादुर र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भएका हुन् । केन्द्रमा आउनका लागि जम्मा ३१ जनाले उम्मेदवारी दिएका थिए ।
कर्णाली र लुम्बिनीबाहेक ५ वटा प्रदेश सदस्य पदका लागि १० जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । जसमा मधेश प्रदेशबाट माधव कुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोला प्रथाबाट माधवकुमार कर्मचार्य विजयी भए । कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए भने गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुँदा बागमतीमा दिवाकर घलेले ४६ मत ल्याएर विजयी भए ।
सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । त्यस्तै, ५ वटा खुला सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका थिए । जसमा धीरेन्द्र साउद ५९, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१, वीरेन्द्र चन्द ३४ मत ल्याएर निर्वाचित भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत पाए पनि गोला प्रथाबाट करण कार्यसमितिमा चुनिएका छन् ।
क्यानको चुनावमा प्रतिनिधिहरुको विवाद पनि सतहमा देखियो । झापा जिल्ला क्रिकेट संघबाट मनोज कटुवाल र लाक्पा लामा फरक फरक माइन्युटसहित आफू नै आधिकारिक प्रतिनिधि भएको दावी गरेपछि दुवै मतदान गर्नबाट वञ्चित भए । जसले गर्दा ८६ जना मध्ये ८५ जनाले मात्रै मतदान गर्न गरेका थिए ।
यसअघि आईसीसीसँग बिग्रिएको सम्बन्ध उनै क्रिकेट राजनीतिका चतुर खेलाडी चन्द नेतृत्वमा आईसकेपछि केही सुमधुर हुँदै गएको छ । ६ वर्ष आईसीसीको निलम्बनमा परेको क्यान उनकै नेतृत्वमा फुकुवा भएको थियो । नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका उनलाई आफ्नो अन्तिम कार्यकालमा क्रिकेट विकासको स्वर्णिम युग बनाउनु पर्ने दायित्व छ । साथै खेलाडी उत्पादन, ग्रासरुट विकासको ढाँचा, कार्ययोजना र अन्तरराष्ट्रिय रोडम्यापको खाका तयार पार्न सिंगो नयाँ कार्यसमिति नै खरो रुपमा उत्रिनु पर्नेछ ।


प्रतिक्रिया