काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा पुगेका छन् । बिहीबार अमेरिकी राष्ट्रपति वाइडेनसँग भेट गरेका प्रधानमन्त्री प्रचण्डले लगत्तै शनिवार चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गरेका छन् । कमजोर संसदीय अंकगणित, आफ्नो पार्टी सदनको तेस्रो शक्तिमा सीमित रहे पनि गठबन्धनको आडभरोसामा सत्ताको साँचो हत्याउन सफल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश सम्बन्ध र कुटनीतिक अभ्यासमा अर्को इतिहास बनाउन सफल भएका छन् ।
नेपालको भु–राजनीतिक अवस्थितिलाई आफ्नो रणनीति क्षेत्रको रुपमा स्वार्थ सिद्ध गर्न सक्रिय विश्वका दुई महाशक्ति राष्ट्र उत्तरी छिमेकी चीन र मित्रराष्ट्र अमेरिकाको एकपछि अर्को भ्रमण र दुवै मुलुकका राष्ट्र प्रमुखसँग एक दिन मात्र विराएर गरेका भेट चर्चामा छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डले विहिवार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग न्यूयोर्कमा र शनिवार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनको हाङजाउमा भेटवार्ता गरेका छन ।
पहिलो पटक अमेरिका हुँदै छिमेकी देश चीनको औपचारिक भ्रमण पुगेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उप्रधानमन्त्री नै विमानस्थलमा पुगेर भव्य स्वागत गरे । त्यति मात्रै होइन, प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीसँग दुई–दुई पटक भेटवार्ता गरे ।
प्रधानमन्त्रीको हैसियतमा तेस्रो पटक चीन पुगेका प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच पहिलो पटक राजधानी बाहिर भेट भएको हो भने समकक्षी ली छ्याङसँग भने सोमबार राजधानी बेइजिङमै भेटवार्ताको कार्यसूची छ । प्रधानमन्त्री हुनासाथ पहिला भारत जाने भन्दै चीन भ्रमण रद्ध गरेर बोआओ सम्मेलनमा सहभागी नभएका प्रधानमन्त्री प्रचण्ड एसियन गेम्स्को उद्घाटन सत्रमा सहभागी हुन चीन पुगेका हुन् ।
कोरोना महामारी र विशेषत अमेरिकी सहयोग परियोजना एमसीसी कार्यन्वयनमा गएपछि, प्रचण्डको चीन यात्रा अर्थपूर्ण रुपमा हेरिएको छ । अर्कोतर्फ चीनले जारी गरेको आफ्नो नयाँ मानचित्रमा नेपालको अद्यावधिक नक्सालाई मान्यता नदिएपछि सदन र सडकको दवाव बोकेर चीन भ्रमणका गएका प्रधानमन्त्रीले के गर्छन भन्ने चासो स्वाभाविक छ । त्यसबाहेक नेपाल–चीनबीच विकास परियोजनाहरुमा सहमति हुने तर, कार्यन्वयन नै नहुने अवस्थाको निकास यो भ्रमणले खोज्न सक्छ कि सक्दैन भन्ने आम चासो छ ।
१५ वर्षअघि सन् २००८ मा बेइजिङ ओलम्पिकको समापन समारोहमा प्रधानमन्त्रीको रुपमा प्रचण्ड पहिलो पटक चीन भ्रमणमा गएका थिए । पहिलो पटक प्रधानमन्त्री भएपछि प्रचण्डको विदेश भ्रमण नै चीनबाट भएको थियो । हाल प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड तेस्रो चीन भ्रमणमा छन् ।
ध्रुविकृत हुँदै गएको विश्व राजनीति र बदलिँदो भु–राजनीतिका कारण नेपाल चुनौती र अवसरको दोसाँधमा छ । यस्तो अवस्थामा राजनीतिक नेतृत्वले चाल्ने हरेक कुटनीति कदमले विशेष अर्थ राख्छ । नेपाल–चीनबीचको कुटनीतिक सम्बन्धमा बढ्दो अशंका र धुमिल हुँदै गएको सम्बन्धको पुर्नताजकि र विश्वासको वातावरण सृजना गर्ने दृष्टिकोणले प्रधानमन्त्री प्रचण्डको चीन यात्रा यो पटक विशेष र अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया