Breaking

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति

आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता


काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।

सहमतिअनुसार नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका व्यवस्थाहरुमा संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद सञ्चालनसम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्नेलगायतमा सहमति जुटेको छ । यस्तै शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासंघ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानूनी प्रबन्ध गर्नेलगाएतका सहमति पनि भएको छ ।

विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज २ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन सुरु गरेका थिए ।
०००