Breaking

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता


काठमाडौँ – सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ ।

यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए ।

बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा। प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो ।

साँझ ७ बजेदेखि सुरु भएको छलफल बेलुका साढे ९ बजेसम्म चलेको थियो । सो छलफलमा शिक्षकका प्रतिनिधिहरुले १७ बुँदे माग प्रस्तुत गरेका थिए । मन्त्रीहरुले कतिपय माग संविधान संशोधन गर्नुपर्ने खालका रहेकाले उक्त मागमा सहमति हुन नसक्ने बताएका थिए ।

शिक्षकहरुसँगको छलफलपछि सञ्चारमन्त्री रेखा शर्माले शिक्षकहरुले राखेका कतिपय माग संविधान संशोधन गर्नुपर्ने अवस्थाका र कतिपय माग ऐनरनियमावली संशोधन गरेर गर्न सकिने खालका भएको बताइन् । ऐनरनियमावली संशोधन गर्ने कुरा संसदबाट सम्बोधन हुनसक्ने भए पनि विद्यालय शिक्षा स्थानीय तह मातहतमा राख्न हुन्न भन्ने माग संविधानसँग जोडिएकाले उक्त विषयमा समीक्षा मात्र गर्न सकिने तर सहमति नहुने बताइन् ।