Breaking

सत्ता बार्गेनिङदेखि डलर माग्न प्रधानमन्त्री–मन्त्रीदेखि नेताको विदेश लर्को, को कहाँ छन् ?


काठमाडौँ — सत्ताको बागडोर सम्हाल्ने नेतृत्व देशमा भन्दा बढी विदेशमा भेटिन्छन् । कार्यकारी प्रमुख प्रधानमन्त्रीदेखि, मन्त्रीदेखि सांसद र नेताहरु निरन्तर विदेश भ्रमणमा व्यस्त छन । मुलुक लथालिङ हुँदा नेतृत्व भने सदन नै स्थगित गरेर विदेश यात्रामा निस्कनु कत्तिको जायज ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १५ दिनका लागि विदेश यात्रामा छन । यस अघि इटालीको रोम र छिमेकी मुलुक भारतको भ्रमण भ्याईसकेका प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा सम्बोधन गर्न अमेरिकाको न्यूयोर्कमा छन ।

असोज ५ गते उतैबाट उत्तरी छिमेकी देश चीनको भ्रमणमा जानेछन् । परराष्ट्रमन्त्री एनपी साउद प्रधानमन्त्री अगावै अमेरिकामै छन् । उनी उतैबाट प्रधानमन्त्रीसँगै चीन उड्नेछन् । प्रधानमन्त्री प्रचण्ड अमेरिका गएकै भोलिपल्ट सभामुख देवराज घिमिरे साताव्यापी आयरल्यान्ड भ्रमणमा निस्किएका छन् । संसद अधिवेशन स्थगित गरेर सभामुख घिमिरे दोस्रो विदेश भ्रमणमा निस्किएका हुन् । सांसद प्रकाशमान सिंह दिल्ली दौडिएका छन ।

सांसद सुनिल शर्मा केहि थान यू्टुवर नै बोकेर दुवईमा छन । सांसद डा. आरजु राणा देउवा र विनोद चौधरी सिंगापुर भ्रमणमा छन । सांसद डाक्टर सिके राउत, सोविता गौतम, रुपा वि.क पनि अमेरिका भ्रमणमा छन । पूर्व–प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई छोरी मानुषी सहित भारत भ्रमणमा छन ।

असोज पहिलो साता थप अन्य मन्त्रीहरु विदेश भ्रमणमा निस्किँदै छन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र खानेपानी मन्त्री महिन्द्रराय यादव प्रधानमन्त्रीको चीन भ्रमणको टोली सदस्यको हैसियतमा चीन जाँदैछन । एसियन गेम्स्को उद्घाटनमा भाग लिन खेलकुदमन्त्री डिगबहादुर लिम्बू पनि चीन जाने तयारीमा छन् । अर्थमन्त्री प्रकाशरण महत असोज पहिलो साता नै मोरक्को र इजिप्टमा हुने कार्यक्रममा सहभागी हुन भ्रमणमा निस्कने कार्यतालिका छ ।

नेदरल्यान्डमा भएको पूर्वाधार लगानी सम्बन्धी कार्यक्रममा सहभागी भएर भर्खरै युरोपको भ्रमणबाट स्वदेश फर्केकी सहरी विकास मन्त्री सीता गुरुङ पुन मलेसिया भ्रमणको तयारीमा छिन् । उपप्रधानमन्त्री नाराणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री वेदुराम भुसाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, श्रममन्त्री शरतसिंह भण्डारीलगायत मन्त्रीहरूको विदेश दौडाहा पनि रोकिएको छैन । राजनीतिक दलका नेताहरुको विदेश भ्रमणको शृङ्खला झन चर्को छ । नेपालका कम्युनिष्ट नेताहरुको चीन यात्रा निरन्तर छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा जम्बो टोली चीन भ्रमण सक्काएर फर्किएको छ । अन्तराष्ट्रिय मञ्च होस् या दुईपक्षीय कुटनीतिक भेटघाटमा भ्रमणको उपलब्धि के ? विश्लेषण जरुरी छ । जनस्तरको सम्बन्धले समेत मुलुकको कुटनीति फष्टाउन मद्धत गर्छ । तर मुलुकको कुटनीतिक अवस्था झन झन कमजोर र लथालिङ बन्दै छ । निरन्तर बाक्लिएका भ्रमणले न त छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बन्न सकेको छ, न त अन्तराष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधित्व प्रभावकारी नै । कमजोर र कच्चा कुटनीतिको मारमा मुलुक छ ।

धेरै विदेश भ्रमण नगर्ने, अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई विदेश भ्रमणमा नपठाउने र आर्थिक मितव्ययिता अपनाउने भन्दै भ्रमणको सदस्य संख्या समेत घटाए पनि प्रधानमन्त्रीदेखि सभामुख, सरकारका मन्त्रीहरुको लगातार विदेश भ्रमण कम रोचक छैन । विदेश भ्रमणमा चलेको तँछाडमछाडले मुलुकको राजनीतिक अवस्था भने लथालिङ देखिन्छ ।

सदन सञ्चालन भएको यत्तिका महिना वित्यो, एउटा कानुन निर्माण हुन सकेको छैन । जनजीविका झन शिथिल अवस्थामा छ । तर नेतृत्वको ध्यान मुलुक र नागरिकप्रति भन्दा विदेश भ्रमण केन्द्रित छ ।