खेलकुद

साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि सुरू


काठमाडौं । साफ अन्डर नाइन्टिन च्याम्पियनसिप आजदेखि काठमाडौँमा सुरू हुँदै छ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारत आमने–सामने हुनेछ, भने साँझ साढे ५ बजे सुरू हुने खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको पहिलो खेल जित्दै नेपाली टोली अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउने लक्ष्य लिएको छ । पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो । यसअघि अन्डर–ट्वेन्टी र अन्डर–एटिन फम्र्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेको छ ।

नेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र २०१७ मा च्याम्पियन बनेको थियो । भारत पछिल्ला दुई संस्करणको विजेता हो । दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो । यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ । ६ टोली सहभागी प्रतियोगितामा समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।