Breaking

संविधान दिवसमा रोल्पाबाट रविको टिप्पणी – जनताले धोका पाएको महसुस गरेका छन्


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै मुलुकको बागडोर सम्हालेको प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका छन् ।

उनले भनेका छन्, ‘जननिर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर, मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ ।’

उनले अहिले आफू विगत ३ दशकको राजनीतिक उतार चढावमा सबैभन्दा पीडा भोगेको रोल्पा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्तावेज हो । हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’

संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको उनको भनाइ छ । लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बन्नुपर्ने बताएका छन् ।