Breaking

टीकापुर घटनामा कैलाली कारागारमा रहेका ३ जना रिहा हुँदै


काठमाडौँ – टीकापुर घटनामा कैलाली कारागारमा कैद भुक्तान गरिरहेको तीन जना आज रिहा हुँदै छन्।

संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुने भएका हुन्।

कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा हुन लागेका हुन्।

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा आज रिहा भइरहेका छन्।

यसअघि टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन्। वि।सं। २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो।

कैलाली कारागारबाट कैदी रिहा हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता, मन्त्री, सांसद स्वागतका लागि धनगढी पुगेका छन्।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन्।