Breaking

अमेरिकासँग उभिँदै प्रचण्ड, सीसँग चीनमा आमनेसामने, एकैलटमा महाशक्तिसँग भेट


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिदै चिन जाने आफ्नो कार्यतालिकाको सदनलाई जानकारी गराएका छन् । प्रधानमन्त्रीले आफ्नो भ्रमण छोटो, छरितो रहेकाले अमेरिकाबाट सिधै चीन जाने कार्यतालिका रहेको समेत सदनमा जानकारी गराए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्री ’प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने विषय, र आफ्नो भ्रमणको तालिका शुक्रबार संसद्लाई जानकारी गराएकाछन् । प्रतिनिधिसभा बैठकमा समय लिएर उनले नेपालले यस वर्ष ४७ वटा अल्पविकसित देशको अध्यक्षता गर्दै प्रतिनिधित्व गरेर देशका साझा समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गर्ने बताए । प्रधानमन्त्रीले २१ सेप्टेम्बरमा हुने महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभाको सामान्य बहसको विषय ‘विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृत ः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने’ भनी छनोट गरिएको छ । प्रधानमन्त्री दाहाल महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै १९ सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने छन् ।

न्यूयोर्कमा हुँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलनलगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण प्रधानमन्त्रीले सिधै अमेरिकाबाट चीन जाने कार्यतालिका बनाएकाछन् । हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपतिसी चिनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने र २५ सेप्टेम्बरमा बेइजिङमा समकक्षी लि छियाङ्सँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ ।

यसको अलवा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै फड्को मारेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने तालिका छ । भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुने प्रधानमन्त्री दाहालले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणमा सानो र छरितो टोली बनाइएको बताएका छन । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् ।

आफ्नो विदेश भ्रमणको विषयमा राष्ट्रपति कार्यलयमा आफ्ना भ्रमणको एजेण्डाको जानकारी गराएका प्रधानमन्त्रीले सर्वदलिय बैठक र मन्त्रीपरिषद वैठकमा पनि भ्रमणको एजेण्डा र आफ्नो भ्रमण तालिका जानकारी गराएका थिए । प्रधानमन्त्री विदेस भ्रमणमा जाने तय भएसँगै प्रतिनिधिसभा वैठक १६ दिनका लागि स्थगित भएको छ ।