Breaking

चुच्चे नक्सा बोकेर प्रचण्ड चीन जानुपर्ने, कम्युनिष्ट मिल्ने डरमा काँग्रेस आत्तियो,नक्सादेखि रेलको लफडा


काठमाडौँ — सांसदहरुले प्रधानमन्त्रीको चीन भ्रमणका बारे सुझाव दिएका छन् । सर्वाधिक चर्चामा रहेको चुच्चे नक्सादेखि विद्युत् व्यापार हुँदै तेल, रेल र हवाईसम्मका बारे बोल्न प्रधानमन्त्रीलाई सांसदहरुले सुझाएका हुन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भई अमेरिका हुँदै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण अघि सदनलाई पूर्वजानकारी गराएका छन् ।

प्रधानमन्त्रीको हैसियतामा तेस्रो पटकको चीन भ्रमणलाई प्रचण्ड भारतको जस्तो विवादित बनाउने मनस्थिितिमा छैनन् । जसका लागि उनले भ्रमण सदस्यकै आकार सानो बनाएर सकारात्मक सन्देश दिएका छन् । तर, यता भ्रमणको पूर्वसन्ध्यामा सदनलाई जानकारी गराएका प्रधानमन्त्री प्रचण्डलको भ्रमणप्रति सांसदहरुको चासो र चिन्ता दुवै देखिएको छ । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले चीन भ्रमणमा चुच्चे नक्साको विषयमा चीन समक्ष कुरा उठाउन ताकत राख्नु पर्ने बताएको छ ।

सर्वदलीय बैठकमा एजेण्डा र प्रधानमन्त्रीको विदेश भ्रमणका विषयमा नबोलेको एमालेले आफ्ना महासचिवले चिनीयाँ पार्टीलाई यसबारे अवगत गराईसकेकोले प्रधानमन्त्रीले पनि बोल्नु पर्ने धारणा राखेको छ । विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने एमाले सांसद रघुजी पन्तले बताएका छन् । त्यस्तै बीआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने र ३÷४ वटा नाका खोल्नुपर्नेमा पनि जोड दिएका छन् । तर, प्रतिपक्षले एमालेले अमेरिका हुँदै चीन जाने विषयलाई भने कूटनीतिक मर्यादा विपरीत भन्दै खण्डन गरेको छ ।

सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय आफ्नै पार्टीले सम्हालिरहेको हुँदा तयारी राम्रो भएको बताएको छ । साथै प्रधानमन्त्रीको भ्रमण सकारात्मक हुने र त्यसमा कांग्रेसको शुभेच्छा रहने उनीहरुको तर्क छ । कांग्रेस सांसद् रामहरि खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्री प्रचण्डले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

उनले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रुपमा स्पष्ट रुपमा कुरा गर्नुपर्ने भन्दै दुई शक्तिशाली राष्ट्रहरको शक्ति सन्तुलनमा प्रधानमन्त्रीले हेक्का राख्नु पर्ने तर्क गरेका छन् । त्यस्तै प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उनको विश्वास छ ।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलेप्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुंग्याइ चीन भ्रमण नजान सुझाव दिएका छन् । उनले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने माओवादी नेताले बताएका छन् । देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तरर्राष्ट्रिय सम्बन्धहरुलाई पनि सुमधुर, सन्तुलित रुपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौताहरू सांसद् देवेन्द्र पौडेलले जानकारी दिए । शक्तिशाली देशबाट आफू अनुकूल व्यापारिक फाईदा लिनु पर्ने र प्रधानमन्त्री प्रचण्डको भ्रमणले यसपाली आश जागेको पौडेलले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको महासभामा सहभागी हुन ३० गते जाँदै छन् भने उनी महासभालाई सम्बोधन गरेर असोज ५ गते उतैबाट चीन प्रस्थान गर्ने छन् । छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिमश्री लि छियाङ्को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा प्रचण्डलाई चुच्चे नक्साले भने पीरलो दिने देखिएको छ ।