Breaking

पिताप्रतिको सम्मान, कोहीले मुख हेरे, कसैले तर्पण दिए


काठमाडौँ — कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । देशैभर आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गरेर मनाइएको छ । बुबा गुमाएकाहरुले भने तीर्थस्थलमा गई आफ्ना पीतालाई स्मरण गरेका छन् । वैदिक सनातन हिन्दू धर्मका अनुसार भाद्र कृष्ण अमावास्यका दिनलाई विशेष रुपमा लिने गरिन्छ । आज त्यही भाद्र कृष्ण अमावास्य अर्थात भाद्र कृष्ण औँशीको दिन पीतृलाई विशेष पूज्ने गरिन्छ ।

बुबाको श्रद्धासाथ मुख हेर्ने यसदिनको औँसीलाई गोकर्णे औँसी र कुशे औँसीका नामले पनि मनाइने चलन छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी मनाउने चलन छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकोमा पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक जनविश्वास छ ।आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रही आएको छ ।

उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लाग्ने गर्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पीताको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको निकै ठूलो भीड लाग्यो । बाबु गुमाएकाहरुले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता छ । पश्चिमा संस्कृतीको अनुसरण गर्दै सनातन संस्कार छाड्नेहरु बढ्दै जाँदा पीतालाई श्रद्धासाथ स्मरण गर्नेहरु भने गोकर्णेश्वर, पशुपतिनाथ लगायत धार्मिक स्थ पुगेका छन् ।

‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुसार यस दिन छोराछोरीले आफ्ना पीतालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास रही आएको छ । बुबा जसले सन्तानलाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने पीताप्रति आजको दिन विशेष भनेर धर्मशास्त्रले छुट्याएको हो । संसार चिनाउने आफ्ना भगवान्रुपी पितालाई आजका दिन सन्तानहरुले यसरी सम्झने गरेका छन् ।

नेपाली संस्कृतिमा सबैलाई आ–आफ्नो ठाउँमा समान स्थान दिने गरिन्छ । ठूलालाई आदर र सानोलाई माया दिने संस्कृति हाम्रो परम्परादेखि नै चलिआएको हो । प्रत्यक्ष देखिने भगवान्को रुपमा मनाइने यो पर्वले बुबा र सन्तानको सम्बन्ध सुमधुर र पुरै परिवारमा सद्भाव कायम राख्न विशेष भूमिका खेलेको छ ।

त्यस्तै आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ । अरू दान दुःखी गरिबलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिँदा दिने र लिने दुवैको भलो हुने शास्त्रीय मान्यता रही आएको छ ।