काठमाडौँ — संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिँदै अन्तिम विदाई गरेका हुन् । भाद्र कृष्ण अमावास्य यानिकी आफ्ना पीताको मुख हेर्ने दिन आज संविधान सभा अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङका सन्तानले भने उनलाई सदाका लागि बिदाई गर्नु परेको छ ।
यता सम्पूर्ण नेपालीको घरमा आफ्ना पीताका लागि मीठा मिष्ठान्नका परिकारले बुबालाई अपर्ण गरि तृप्त बनाईरहँदा उता नेम्वाङका दुई छोरा र दुई छोरीले भने अन्येष्टि गर्दै विदा गरेका छन् । नेम्वाङको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा हिन्दू र लिम्बू संस्कारअनुसार छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिँदै राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका थिए ।
छोराहरू देशबाहिर रहेकाले नेम्वाङको अन्तिम संस्कारमा ढिलाइ भएको हो । स्वर्गीय नेम्वाङका दुई छोरा र दुवै छोरीमध्ये पत्नीसहित बेलायतमा बसोबास गर्दै आएका जेठा छोरा मिङ्सो नेम्वाङ बुधबार मात्रै काठमाडौँ झरेका थिए भने अर्का छोरा सुहाङ नेम्वाङ केही दिन अघि घुम्नका लागि अष्ट्रेलिया पुगेका थिए ।
उनी बुबाको मृत्युको खबर पाएसँगै मंगलबार नै नेपाल फर्किएका थिए । त्यस्तै नेम्वाङकी छोरी शुसाङ डेण्डल सर्जन् हुन् भने सबैभन्दा कान्छी छोरी सारा(सम्या) सामाजिक कार्य विषयमा स्नाकोत्तर गरिरहेकी छन् । सन्तानमध्येको माईलो छोरो सुहाङ मात्रै राजनीति गतिविधिमा सक्रिय छन् । जेठो छोरो मिङ्सोबाहेक सबै अविवाहित हुन् । नेम्वाङको अन्तिम विदाईको समयमा परिवार भावविह्वल बनेका थिए ।
नेम्वाङको अन्त्येष्टिअघि बालुवाटारबाट पशुपति आर्यघाटसम्म राजकीय सम्मानसहित शवयात्रा गरिएको थियो ।काठमाडौँ बालुवाटारस्थित नेम्वाङको निवासबाट नेपाली सेना तथा प्रहरीको टुकडीले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरिएको थियो।नेम्वाङको निजी निवासबाट शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै शवयात्रा पशुपति आर्यघाट पुगेको थियो । शव यात्रामा प्रधानमन्त्रीसहित मन्त्रीहरु, एमालेका नेता कार्यकर्ता, आफन्त, र समर्थक–शुभेच्छुक गरि सयौँ सर्वसाधारण सहभागी भएका थिए ।नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।
उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा नै दिएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
स्वर्गीय नेम्वाङको पार्थिव शरीर मंगलबार एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र त्यसको भोलीपल्ट बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि बिहीबार पशुपति आर्यघाट पुर्याइएको हो ।संघीय संसदका दुवै सदनले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बिहीबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।


प्रतिक्रिया