काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।विदेशबाट छोराहरू आएसँगै अन्तिम श्रद्धान्जलीका लागि नेम्वाङको पार्थिव शरिरलाई नीजि निवास बालुवाटारमा राखिएको हो । बिहीबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेकोमा त्यसअघि नीजि निवासमा आफन्त एवम् ईष्टमित्रहरुका लागि श्रद्धान्जली कार्यक्रम राखिएको नेम्वाङको सचिवालयले जनाएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हृदयघात हुँदा घरमा श्रीमती र छोरीहरू मात्रै थिए । छोरीहरूले नै उनलाई अस्पताल पुर्याएका हुन् । तर, अस्पताल पुग्न नपाउँदै त्रिवि शिक्षण अस्पतालले मंगलबारको झिसमिसे नहुँदै मृत घोषणा गरिदियो । नेम्वाङका दुई छोरा छन् ।
घटना हुँदा दुबै छोरा नेपालमा थिएनन् । कान्छा छोरा अष्ट्रेलिया घुम्न गएका थिए भने जेठा छोरा बेलायतमा सपरिवारै बस्दै आएका थिए । दुई भाई छोरा आउन ढिला हुने भएपछि उनको अन्त्येष्टि बिहीबारका लागि सारिएको हो । अन्तिम संस्कारका लागि दुबै छोरा विदेशबाट नेपाल आएसँगै नेम्वाङको पार्थिव शरिरलाई नीजि निवास बालुवाटारमा लगेर राखिएको छ । बालुवाटारको घरमा अहिले अन्तिम श्रद्धान्जली दिने आफन्त, ईष्टमित्रहरुको बाक्लो भीड लागिरहेको छ ।
घुमघामका लागि भनेर अष्ट्रेलिया पुगेका कान्छो छोरा सुहाङ र जेठो छोरा मिङ्सोलाई सायदै लागेको थियो, बुबा सुवासचन्द्र नेम्वाङलाई यति चाँढै गुमाउनुर्छ भन्ने । तर, २ दिनअघि मात्रै पूर्व पुगेर तिखो भाषण दिएर फर्किएका नेम्वाङको भौतिक उपस्थिति मंगलबार बिहानसम्मको लागि मात्रै रह्यो । हिन्दू र लिम्बू परम्पराअनुसार नेम्वाङको पशुपति आर्यघाटमा बिहीबार ११ बजे दाहसंस्कार गरिँदै छ । सरकारले नेम्वाङको राजकीयसम्मानका लागि अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक विदासमेत दिएको छ भने नेम्वाङले राजकीय सम्मान पाउनेछन् ।
एमालेले पनि नेम्वाङको निधनको शोकमा तीन दिन देशभरका पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सबै औपचारिक कार्यक्रमहरू स्थगित गरिएको छ । मंगलबार त्रिवि शिक्षण अस्पतालबाट पार्टी कार्यलय च्यासल पुर्याईएको नेम्वाङकापार्थिव शरिरलाई बुधबार दिउँसोसम्म त्यहाँ राखेर नीजि निवास लगिएको हो । उनलाई अन्तिम श्रद्धान्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहा प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरु च्यासल पुगेका थिए ।
इलाम क्षेत्र नं २ बाट पाँचौँपटक संसदीय निर्वाचनमा निर्वाचित प्रतिनधिसभा सदस्य नेम्वाङको निधनपछि इलामकोइलाम नगरपालिका–७ स्थित सुन्तलाबारी स्तब्ध भएको छ । सबै राजनीतिक दलका नेता, कार्यकर्ताको एउटै बोली सुनिन्छ, ‘इलामको मियो ढल्यो’ । २०७९ को निर्वाचनमा नेम्वाङ आफ्नै ३० वर्षदेखिको विरासत जोगाउँदै एक सय १४ मतान्तरले विजयी बनेका थिए । नेम्वाङ २०६४ र ०७० सालको संविधान सभामा अध्यक्ष थिए ।


प्रतिक्रिया