Breaking

सुवास नेम्वाङको पार्थिव शरीर आज दिउँसो आफ्नै निवासमा लगिने


काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसोदेखि उनको आफ्नै निवासमा राखिने भएको छ ।

सोमबार बिहानदेखि श्रद्धाञ्जलिका लागि ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको नेम्वाङको शव दिउँसो १ बजेपछि वालुवाटारस्थित निवासमा राखिने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलि व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।

दिउँसोपछि बालुवाटारस्थित निवासमा राखेर नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने व्यवस्था मिलाइएको विष्टले बताए ।

विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सरकारले पनि नेम्वाङको दाह संस्कार हुने दिन बिहीबार देशभर सार्वजनिक बिदा दिने र राजकीय सम्मानसहित नेम्वाङको अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।