Breaking

कानुन बनाउँदा अन्यत्रबाट सारिन्छ, अनि कार्यान्वयनमा जटिलता हुन्छ : बालेन शाह


काठमाडौँँ – महानगरपालिकाका मेयर बालेन शाहले महानगरले बिरामी र अस्पताल दुवैलाई सम्बोधन गर्ने बताएका छन् ।

लक्षित वर्गलाई अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचारका विषयमा आज निजी तथा सामुदायिक अस्पतालका प्रतिनिधिहरूसँगको छलफलमा बालेनले बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नु आफूहरूको दायित्त्व भएको बताए ।
कानुन बनाउँदा स्थानीय आवश्यकता र समस्या नहेरी अन्यत्रबाट सारेर ल्याउने पद्धतिका कारण कानुन कार्यान्वयनमा जटिलता भएको उनको भनाइ छ । उनले आफ्नै अवस्था र आफ्नै समस्यालाई हेरेर कानुन बनाउनुपर्ने र बनाइएका कानुनलाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्ने बताए ।

उनले लक्षित वर्गको निःशुल्क उपचारसम्बन्धी व्यवस्थाको कार्यान्वयन कसैलाई अप्ठेरो पार्न नगरिएको बताए । कानुनले गर्नु भनेका काम गर्न गराउन मात्र खोजिएको उनको भनाइ छ ।

उनले महानगरपालिकाले तर्जुमा गर्न लागेको कार्यविधिमाथि विषयगत समूहमा छलफल गरेर सुझाव प्राप्त गर्न र प्राप्त भएको सुझावलाई समेटेर कार्यान्वयन योग्य प्रबन्ध राख्न आग्रह गरे ।