Breaking

वीरगञ्जको बाल सुधार गृहमा रातभर तनाव


काठमाडौँ – पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।

गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । उनीहरूबीच तनाव बढेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आज बिहानको अवस्था सामान्य रहेको जनाएको छ । बाल सुधार गृहभित्र भएको विवाद के हो भन्ने सार्वजनिक भइसकेको छैन । स्थानीय प्रशासनले उनीहरूसँग छलफलको प्रयास जारी राखेको छ ।

यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरू भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।